सामाजिक सद्भाव दरिलो बनाउनु सबैको कर्तव्य होः राष्ट्रपति


 


काठमाडौँ, मंसिर २८

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमार्फत सम्पूर्ण जनताको अधिकार सुनिश्चित गरी समृद्ध राष्ट्र निर्माणमा अगाडि बढ्न उधौली पर्वले उत्प्रेरणा मिलोस् भन्ने शुभकामना दिनुभएको छ ।

किरात जातिको महान् पर्व उधौली पर्वका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किरात जाति नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख शान्ति र समृद्धि, आपसी सद्भाव, एकता, भाइचारा एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उहाँले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वका माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य रहेको औँल्याउनुभएको छ ।

असन्तुष्टिलाई संवादबाट हटाउन उपराष्ट्रपति आग्रह

यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले सन्देश दिँदै किरात जातिको महान् पर्व उधौली तथा ज्यापू समुदायले मनाउने ज्यापु दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली किरात र ज्यापू दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले संविधानसभाबाट संविधान जारी भइसकेको परिवर्तित सन्दर्भमा द्रुततर आर्थिक विकास, प्रगति र समृद्धि नै मुलुकको आवश्यकताका रुपमा रहेको बताउँदै संविधान कार्यान्वयनका क्रममा देखिएका असन्तुष्टि र असमझदारीलाई आपसी संवाद, सहमति र सहकार्यका माध्यमबाट हटाउँदै निर्धारित समयमा स्थानीय, प्रदेश र सङ्घ गरी तीन तहको निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयनका लागि सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

 

 

प्रकाशित मिति: २८ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्