कतारमा नयाँ नियम लागू


 


काठमाडौं मंसीर २८

नेपाली कामदारहरुको आकर्षक गन्तव्यको रुपमा रहेको कतारमा आजदेखि आप्रवासी कामदारका लागि नयाँ नियम कार्यान्वयनमा ल्याएको छ ।

आप्रवासी कामदारका लागि निकै नै कठोर मानिएको कफाला प्रणालीलाई संसोधन गर्दै कतार सरकारले आजदेखि लागु हुनेगरी नयाँ नियम कार्यान्वयनमा ल्याएको हो ।

यो सँगै आप्रवासी कामदारले जागिर परिवर्तन गर्न वा देश छोड्न रोजगारदाता कम्पनीको अनुमति लिनुपर्ने बाध्यताको अन्त्य भएको छ । ‘कन्ट्रयाक्ट’ मा आधारित नयाँ प्रणालीले आप्रवासी कामदारहरुको सुरक्षा गर्ने सरकारको दाबी छ ।

सरकारी अधिकारीहरुले नयाँ कानुनले रोजगारीमा थप लचकता अपनाउने र विदेशी कामदारको सुरक्षा दिने बताएका छन् ।

कफाला प्रणाली आधुनिक दास बनाउने प्रणाली भएको भन्दै चर्को आलोचना भएपछि विश्वकप आयोजना गर्ने तयारी गरिरहेको कतारले नयाँ स्पोन्सरसिप प्रणाली लागु गरेको हो ।

नयाँ नियम अनुसार कामदारले चाहेको खण्डमा कम्पनी परिवर्तन गर्न पाउने छन् । स्पोन्सरसिप प्रणालीले रोजगारदाता, कर्मचारी वा प्रवासी कर्मचारीका सम्बन्धलाई नियमन गर्नेछ ।

यस्तै नियम अनुसार विदा र स्वदेश फिर्तिका लागि कम्पनीले विदा नदिए त्यस सम्बन्धमा निर्णय गर्न छुट्टै समिति समेत बनाइएको छ । कामदारले त्यहाँबाट विदा लिएर घर फर्किन सक्ने छन् ।

गएको वर्ष कतारको मन्त्रिपरिषद्ले नयाँ कानुनको मस्यौदा स्वीकृत गरी अन्तिम स्वीकृतिका लागि माथिल्लो निकाय अमिरलाई पठाएको थियो । अमिरबाट डिसेम्बर १३ अर्थात् आजैका मितिबाट लागु हुने गरी स्वीकृत गरिएको थियो ।

प्रकाशित मिति: २८ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्