उर्जा मन्त्री भन्छन -विद्युत् प्राधिकरणको प्रमुख बन्न १० करोडको अफर आयो


 


 

मोरङ , मंसीर २८

उर्जा मन्त्री जनार्दन शर्माले नयाँ खुलासा गरेका छन । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले मंगलबार संयुक्त आयोजना गरेको अन्तर्क्रियामा शर्माले १० करोडको अफर लिएर दुई चार जना आफूलाई भेट्न आएको दावी गरे ।

जनार्दन शर्माले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाउन आफूलाई १० करोडसम्मको अफर आएको खुलासा गरेका छन् ।

विद्युत उत्पादन क्षेत्रमा अहिले राम्रो टिम निर्माण भएको दावी गर्दै मन्त्री शर्माले उर्जा सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र विद्युत् उत्पादन कम्पनीका प्रमुख मोहन पन्तको टिमले अबको ५० देखि १०० वर्षसम्म उर्जा संकट नआउने गरी काम गर्ने दाबी गरे।

अब नेपालमा जुनसुकै सरकार र प्राधिकरणमा कार्यकारी प्रमुख तथा सचिवहरु फेरिएपनि लोडसेडिङ हुन नसक्ने बताउँदै शर्माले कसैले लोडसेडिङ गराउने हिम्मत गरे जनतासँग आफू पनि प्रतिवादमा उत्रने बताए ।

मन्त्री शर्माले यसअघि जनतालाई लोडसेडिङको तालिका सार्वजनिक गरेर सस्तोमा विद्युत् बेच्ने र करोडौं कुम्ल्याउने प्रवृत्ति देखिएको बताए ।

अबको ५ वर्षसम्म १८ घण्टा लगातार काम गर्ने हो भने ८ देखि १० हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने बताउँदै शर्माले काम गर्नेको दिल दिमागलाई झक्झक्याउन सके काम हुने बताए। १ नम्बर प्रदेशको अरुण तेश्रो र तमोर जलविद्युत् आयोजना छिट्टै सुरु गर्ने शर्माको दाबी छ।

प्रकाशित मिति: २८ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्