उमेर ढाँट्न न्यायाधीशको जन्ममिति नै गायब


 


काठमाडौं, पुस ४
सर्वोच्च अदालतका एक न्यायाधीशको उमेर विवाद सार्वजनिक भएपछि न्यायपरिषद्ले न्यायाधीश र न्यायसेवाका कर्मचारीको जन्ममिति नै विवरणबाट हटाएको छ ।

भावी प्रधानन्यायाधीशको रोलक्रममा रहेका सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीको जन्ममिति विवादले प्रधानन्यायाधीशका रूपमा पदमा रहने अवधिमा विवाद देखिएपछि न्यायापरिषद्ले न्यायाधीश र कर्मचारीको जन्ममिति गायब बनाएको हो ।

न्यायपरिषद्ले २०५८ सालदेखि न्यायाधीश र न्याय सेवाका कर्मचारीको विवरणमा जन्ममिति उल्लेख गरेर सार्वजनिक गर्दै आएको थियो । तर, पराजुलीले प्रधानन्यायाधीशका रूपमा कहिले अवकाश पाउँछन् भन्ने विषय विवादित बनेकै वर्ष परिषदले विवरणबाट जन्ममिति हटाएको हो ।

परिषद्को यो कदमसँगै अब अदालतमा कार्यरत न्यायाधीश र कर्मचारीको जन्ममितिमा सर्वसाधारणको पहुँच समाप्त भएको छ । न्यायापरिषदले आफ्नो स्थापना दिवसको अवसरमा आइतबार सार्वजनिक गरेको बुलेटिनमा न्यायाधीश र कर्मचारीको नाम, थर, वतन, न्यायसेवा प्रवेश मिति, हालको पदमा नियुक्त मिति र शैक्षिक योग्यताको विवरण मात्र राखिएको छ ।

अघिल्ला वर्षहरूमा भने हालको पदमा नियुक्त मिति र शैक्षिक योग्यता विवरणको बीचमा जन्ममिति ‘रो’ राखेर विवरण सार्वजनिक गर्दै आएको थियो । परिषद्ले वार्षिक रूपमा न्यायाधीशको विवरण अद्यावधिक गर्ने क्रममा न्यायाधीश र कर्मचारीलाई व्यक्तिगत विवरण फाराम भर्न लगाई सो आधारमा वेबसाइट र बुलेटिनमार्फत न्यायाधीशको विवरण सार्वजनिक गर्ने गर्छ । आजको राजधानी दैनिकमा सामाचार छ ।

प्रकाशित मिति: ४ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्