दक्षिणी लेबनानमा इजरायली आक्रमण, ब्रिगेडियर जनरलसहित १२ जनाको मृत्यु



एजेन्सी । दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएको इजरायली आक्रमणमा लेबनानी सेनाका एक ब्रिगेडियर जनरलसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ।

अमेरिका मध्यस्थतामा भएको वार्तापछि दुवै पक्ष युद्धविराममा सहमत भएको केही दिनमै भएको यो घटनाले क्षेत्रीय तनाव पुनः चर्किने संकेत दिएको छ ।

लेबनानी सेनाले जारी गरेको विज्ञप्तिअनुसार खर्दाली–नबातियेह सडकखण्डमा सैन्य सवारीसाधनलाई लक्षित गरी गरिएको आक्रमणमा एक ब्रिगेडियर जनरल, एक क्याप्टेन र एक सैनिकको ज्यान गएको छ। अन्य स्थानमा भएका आक्रमणमा थप सर्वसाधारण तथा सुरक्षाकर्मीहरूको मृत्यु भएको जनाइएको छ।

इजरायली सेनाले शनिबार भएको उक्त आक्रमण सक्रिय सैन्य गतिविधि चलिरहेको क्षेत्रमा भएको जनाएको छ। सेनाले युद्धक्षेत्रभित्र हुने कुनै पनि आवतजावतका लागि आफ्नो पक्षसँग पूर्वसमन्वय आवश्यक रहने उल्लेख गर्दै घटनाको विस्तृत अनुसन्धान भइरहेको बताएको छ।

यता, लेबनानी सेनाले भने इजरायली आक्रमणलाई युद्धविराम कार्यान्वयन तथा समस्या समाधानका लागि भइरहेका कूटनीतिक प्रयासहरूलाई विफल पार्ने उद्देश्यले गरिएको कदमका रूपमा व्याख्या गरेको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्