अन्तरवार्ता लिन बोलाएर अस्मिता र सम्पत्ती लुट्नेको नालीबेली


 


काठमाडौं, पुस ६

२०७३ मंसिर २३ , होटल तिरुपती, पुतलीसडक काठमाडौं ।

२०७३ मंसिर १८, न्यू सोनी गेष्ट हाउस, सुन्धारा काठमाडौं ।

२०६९ चैत्र १७, होटल सन्तोषी, पोखरा ।

२०६९ चैत्र ५, होटल निलकमल, पोखरा ।

२०६९ फागुन २०, सुन्धाराको एक होटल ।

काठमाडौं र पोखराकामाथि उल्लेखित पाँच मिति र होटलमा एकै प्रकारका घटना भए।

युवती काम, हिरोइन र मोडल बन्ने चाहनामा होटलको कोठामा प्रवेश गरे। कथित अन्तर्वार्ताकारले ती युवतीको साथमा रहेको नगद गरगहना र अस्मिता मात्र लुटेन। युवतीलाई बन्धक बनाएर फरार भयो।

खड्काले मोडल बनाइदिन्छु भन्दै पोखरा लामाचौरकी एक युवतीलाई होटलमा बोलाएर बन्धक बनाई हतियार देखाएर लुटेका थिए। उनले ती युवतीबाट ३ तोला ५० लालको सुन, आइफोन र नगद १२ हजार रुपैयाँ लुटेका थिए। यस्तै पोखराकै नदिपुरकी अर्की महिलालाई समेत सोही वर्ष मोडलका लागि स्क्रिन टेस्ट गर्न भन्दै बोलाएर खड्काले लुटपाट गरेका थिए।

महानगरीय प्रहरी वृत्त कमलपोखरीले काठमाडौंको होटल तिरुपतीबाट उम्कन नपाउँदै नियन्त्रणमा लिएका आफूलाई अभय भन्ने पुष्कर खड्काका नाम थुप्रै छन्। उनको ठेगाना समेत काभ्रेपलाञ्चोक र हेटौडा रहेको सरकारी कागजपत्रमा उल्लेख छ। प्रहरी भन्छ, ‘सार्वजनिक भएका घटनामात्र पाँच वटा देखिएका छन्, पीडित प्रहरीसम्म नआएका घटना अरु पनि होलान।’

प्रहरीका अनुसार खड्का तिनै ब्यक्ति हुन् जो मंसिर ९ गते उपचारको बहानामा पोखराको एक होटलबाट सुरक्षाकर्मीलाई छक्याएर फरार भएका थिए। प्रहरीका अनुसार कारागारका कर्मचारी र सुरक्षाकर्मीलाई प्रलोभनमा पारेर पोखराको होटल निलसागरबाट फरार भएका खड्का कैद र जरिवाना गरी १० वर्ष कारागार सजाय तोकेका अभियुक्त हुन्।

‘पुरानो फाइल हेर्दा पोखराबाट फरार कैदी रहेको खुलेको छ, काठमाडौंमा मंसिरमा मात्रै दुई घटनामा संलग्नता देखियो,’ महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख प्रधुम्न कार्कीले नागरिकन्युजसँग भने। नाम, ठेगाना र हुलिया परिवर्तनगर्दै युवतीलाई निशाना बनाउँदै आएका खड्काको संलग्नता डेढ दर्जन बढी घटनामा हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

पोखराको एउटा दैनिक पत्रिकामा मोडल आवश्यक रहेको सूचना प्रकाशित भयो। घटना २०६९ सालको हो।

पोखराका युवतीले बिज्ञापनमा उपलब्ध नम्बरमा फोन गरे। उताबाट एउटा युवाले केहीलाई फरक फरक होटलको ठेगानामा बोलायो। केहीलाई छनौटका लागि अयोग्य रहेको जानकारी दिइयो।
‘विज्ञापनपछि आउने फोनबाटै खड्काले धनाढ्य युवतीको चयन गर्ने गरेका थिए, होटलको कोठामा अन्तर्वार्ताको बहानामा लुटपाट हुन्थ्यो,’ परिसरका डिएसपी सिद्धिविक्रम शाहले भने। आजको नागरिक दैनिकमा सामाचार छ ।

प्रकाशित मिति: ६ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्