नेपाललाई अस्थिरता र अराजकताको आगोले जलाइरहेको छ : पूर्वराजा ज्ञानेन्द्र


 


काठमाडौं, पुस ७

पछिल्लो राजनीतिक गतिविधिले सामाजिक सद्भाव मेटिँदै गएको बताउँदै पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको रक्षा गर्न सबैलाई आव्हान गरेका छन् ।

बुधबार विज्ञप्ती जारी गर्दै उनले मुलुक दिनानुदिन कमजोर बन्दै गएको बताउँदै राष्ट्रिय एकता र भावनामाथि प्रहार भएको बताएका छन् ।

‘आज हामी जुन माटोमा जन्मिएर कर्म क्षेत्रमा क्रियाशील छौं, त्यो श्रद्धा र आस्थाका धरोहर पुर्खाहरुको बलिदान, अदम्य साहस र रगत पसिनाबाट आर्जित पवित्र भूमि हो,’ पूर्वराजा शाहको विज्ञप्तीमा भनिएको छ, ‘हामीलाई सिंगो संगठित, अविभाजित, सार्वभौम नेपाल दिएर जाने पुर्खाहरुले सुम्पिएको राष्ट्रलाई जोगाउँदै समृद्ध, समुन्नत र सुदृढ बनाउनु हाम्रो मूल दायित्व एवं कर्तव्य हो ।’

पूर्वराजा ज्ञानेन्द्रले पछिल्लो समयमा मुलुकको मूल्य–मान्यतामा आधारित राजनीति नभएको, शक्ति पृथकीकरणको सिद्धान्तमा ह्रास आएको र आपराधिक कार्यले नेपाली समाज प्रताडित बनिरहेको बताएका छन् ।

‘नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाइरहेको छ, पूर्वराजा शाहले भनेका छन्, ‘आज नेपालीबीच सामाजिक सद्भाव मेटिँदै छ भने तराई पहाड र हिमाल माझको ऐक्यभाव तोड्ने भगिरथ प्रयत्न भइरहेको छ ।’

उनले क्रान्तिकारी, परिवर्तनकारी, बलिदानी आदि शब्दभावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य अशोभनीय मात्र नभई असैह्य भएको उल्लेख गरेका छन् । उनले निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधारहरु किमार्थ बलिया हुन नसक्ने बताएका छन् ।
‘इतिहास कलंकित गर्दै निश्चित, निहित स्वार्थ पूरा गर्न गरिएका कार्यहरु कदापी प्रशंसित हुन सक्दैनन्,’ उनको विज्ञप्तीमा उल्लेख छ, ‘माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधुनिकताका दुहाई दिएरमात्र कथित अग्रगमनको यात्राले कदापि गति लिन सक्दैन ।’

नेपालको स्थायी सत्ता भनेकै राष्ट्र र राष्ट्रवासी भएको बताउँदै पूर्वराजा शाहले यसलाई सबल पार्ने भाषा, धर्म संस्कृति, इतिहास एवं त्यसले बोकेको आस्था र विश्वास नै त्यसको बलियो जग भएको बताएका छन् ।

उनले त्यो नै सार्वभौमसत्ताका मुल आधार भएको बताउँदै नेपाली जनजीवनका मौलिक परम्परा, रीतिथिति, सद्भाव, सहिष्णुता, सहअस्तित्व र पद्धतिसँग जोडिएको यावत विषय नै लौकिक सत्ता भएको बताएका छन् । ‘दुर्भाग्वबस आजको सन्दर्भमा वाह्य शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हावी गरिएको छ भने स्थायी सत्ता र लौकिक सत्ता क्रमशः धुमिल पारिएको छ,’ विज्ञप्तीमा उल्लेख छ ।आजको राजधानी दैनिकमा सामाचार छ ।

प्रकाशित मिति: ७ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्