दरबार हत्याकाण्डको छानबिन गर्न मन्त्रिपरिषदमा प्रस्ताव


 


काठमाडौं, पुस ८
तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी हत्या भएको १५ वर्षपछि बिहीबार मन्त्रिपरिषद् बैठकमा उक्त हत्याकाण्डको छानबिन प्रतिवेदन खोजी भएको छ।

बाह्यशक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरू हावी गराएको, स्थायी सत्ता र लौकिक सत्ता धुमिल पारिएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेको भोलिपल्ट सरकारले ०५८ जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डको प्रतिवेदन खोजेको हो।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दरबार हत्याकाण्डको प्रतिवेदनको खोजी गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा ल्याएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा राजनीतिक छलफलक्रममा निधिले दरबार हत्याकाण्डको प्रतिवेदन खोज्नुपर्ने बताएका हुन्।
‘दरबार हत्याकाण्डको छानबिन प्रतिवेदन कहाँ र कता छ रु यसबारेमा पनि सोच्ने हो कि रु ’ उनले बैठकमा व्यक्त गरेको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने।
तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित छानबिन आयोगले तत्कालीन युवराज दीपेन्द्रले गोली चलाएर दरबार हत्याकाण्ड गराएको प्रतिवेदन दिएको थियो।

काँग्रेस नेता तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको कार्यकालमा भएको सो घटनाका बारेमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चर्चा हुँदै आएको छ।
उपप्रधानमन्त्री निधि र रानाभाट दुवै काँग्रेसका नेता हुन।

प्रधानमन्त्री दाहालले बर्तमान राजनीतिक अवस्थाको समीक्षा गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट पाँच प्रदेशको प्रस्ताव आउनु,पूर्व राजा ज्ञानेन्द्रबाट बक्तव्य आउनुलाई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिकको बिरुद्धमा षडयन्त्रको रुपमा बिश्लेषण गरेपछि उपप्रधानमन्त्री निधिले दरवार हत्याकाण्डको प्रसंग उठाएको एक मन्त्रीले बताए। आजको अन्नपुर्ण पोष्ट दैनिकमा सामाचार छ ।

प्रकाशित मिति: ८ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्