सभामुखको आह्वानमा प्रमुख राजनीतिक दलका शीर्ष नेताकोे बैठक बस्दै


 


काठमाडौं, पुस ११

पछिल्लो समय मुलुकमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यको पहल स्वरुप सभामुख ओनसरी घर्ती मगरको आह्वानमा आज प्रमुख राजनीतिक दलका शीर्ष नेताकोे बैठक बस्दैछ । बैठक नयाँबानेश्वर स्थित संसद भवनमा आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

उक्त बैठकमा प्रमुख तीन राजनीतिक दलका अतिरिक्त संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेतालाई पनि बोलाइएको सभामुखका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिए । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टीका शीर्ष नेतालाई बोलाइएको उन्ले बताए ।

सरकारले मधेसी मोर्चाको माग संबोधनका लागि भन्दै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरे सँगै प्रमुख प्रतिपक्षी दल एमाले लगायत अन्य दलहरुले संशोधन विधेयक राष्टहित विपरीत रहेको भन्दै लगातार सदन अवरुद्ध गर्दै आएको छ ।

जसका कारण दर्ता भएर पनि निर्वाचन सम्बन्धि विधेयक अघि बढ्न सकेको छैन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको महाअभियोगको प्रस्तावसमेत अलपत्र बनेको छ ।

यस्तै आजको बैठकमा लगातार सदन अवरोध गर्नु जायज नभएको भन्दै सदन खुलाउने विषयमा छलफल गर्न सभामुख घर्तीले पहल गर्ने कार्यक्रम रहेको बताईएको छ ।

प्रकाशित मिति: ११ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्