नेपाल नामिबियासँग २० रनले पराजित, लगातार तेस्रो हार


 


काठमाडौं, फागुन १५ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक टि-२०आई सिरिजको पहिलो खेलमा पनि नामिबियासँग २० रनले पराजित भएको छ ।

यसअघि नामिबियासंग लिग-२ अन्तर्गत ओडीआईका दुवै खेलमा हार बेहोरेको नेपाल टि२०को पहिलो खेलमा पनि हार बेहोर्न पुगेको हो । योसंगै नेपाल लगातार तेस्रो खेलमा पराजित भएको हो ।

नामिबियाले प्रस्तुत गरेको २ सय ७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले १८.५ ओभरमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२ बलमा २ चौका र २ छक्कासहित ४८ रन जोडे । उनी १९ औं ओभरमा नवौं विकेटको रुपमा कट बिहाइन्ड भए । लगत्तै अर्को बलमा अभिनाश बोहरा पहिलो बलमै बोल्ड भएपछि नेपालको हार पक्का भएको थियो ।

त्यसअघि ओपनर कुशल भुर्तेललाई इनिङको पहिलो बलमा गुमाएको नेपालले आसिफ शेखको साथ पनि तेस्रो ओभरमा गुमायो । दुवै रुबेन ट्रम्पलम्यानको शिकार बने । आसिफले ६ बलमा ६ रन जोडे ।

तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले २८ बलमा ५७ रनको साझेदारी गर्दै नेपाललाई खेलमा कायम राखेका थिए ।

नेपालका लागि कप्तान रोहितले ४२ रनको योगदान दिए । उनले ३ चौका र ३ छक्का प्रहार गरेका थिए । कुशल मल्लले २१ बलमा ३२ रन जोडे । उनले २१ बलमा ४ चौका र १ छक्का बनाए । तर कुशल ९।५ ओभरमा आउट भएपछि नेपालले रनगतिलाई सोचेजस्तो बढाउन सकेन ।

गुलशन झा १२, सन्दीप जोरा ५ र विवेक यादव ६ रनमा आउट भएपछि नेपाल समस्यामा परेको थियो । टांगेनी लुंगामेनीको १७ औं ओभरमा सोमपालले २ छक्का र १ चौकासहित १९ रन जोडेपछि नेपाल खेलमा फर्कियो ।

१८ औं ओभरको पहिलो बलमै सोमपाल क्याच आउट भए । उनले ११ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन जोडेको हो । नामिबियाको लागि जान निकोल लोफ्टि-इटनले विष्फोटक ब्याटिङ गर्दै सबैभन्दा छिटो शतक पूरा गरे ।

अन्तिम ओभरमा क्याचआउट हुनुअघि उनले ३६ बलमा ११ चौका र ८ छक्कासहित १ सय १ रन जोडे । उनले ३३ बलमा शतक पूरा गर्दै नेपालका कुशल मल्लले राखेको कीर्तिमान तोडेका थिए । कुशलले सन् २०२३ को १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएका थिए ।

नामिबियाका ओपनर मलान क्रुगरले ४८ बलमा ६ चुअका र २ छक्कासहित नटआउट ५९ रन जोडे । लफ्टि-इटन र क्रुगरले ५४ बलमा १ सय ३५ रनको साझेदारी गरेका थिए । नेपालले अन्तिम ९ ओभरमा १ सय ४० रन खर्चेको थियो ।

ओपनर माइकल भान लिंगेन १९ बलमा २० रन जोड्दै करण केसीको बलमा क्याच आउट भए । नवौं ओभरमा जेपी कोट्जे ९ बलमा ११ रन जोड्दै पेभेलियन फर्किए । रोहितको बलमा कोट्जे विवेक यादवको उत्कृष्ट क्याचको शिकार बने । नेपालले अब दोस्रो खेलमा बुधबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।

प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्