राप्रपालाई फेरी अर्को झट्का, काठमाडौं जिल्ला समितिका अध्यक्षसहित १०७ जनाद्वारा सामूहिक राजीनामा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं जिल्ला समितिका अध्यक्ष सहित १०७ जनाले सामूहिक राजीनामा दिएका छन् ।

पार्टी नीति र विचारमा विचलन आएको भन्दै अध्यक्ष नवराज सिम्खडासहित १०७ जनाले सामूहिक राजीनामा दिएका हुन् ।

जिल्ला अध्यक्ष सिम्खडाले एक वक्तव्य जारी गर्दै पार्टी नीति र व्यवहारमा एकरूपता नरहेकाले आफूहरूले संयुक्त राजीनामा बुझाएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- ‘राप्रपा आफ्नो नीति, सिद्धान्त र विचारबाट विमुख हुँदै गएको तथा भनाइ र गराइमा एकरूपता नरहेको कारण राप्रपा काठमाडौंबाट संयुक्त राजीनामा प्रस्तुत गरेका छौँ ।’

पार्टी छाडे पनि आफ्नो मूल विचार र सिद्धान्तबाट भने विचलित नहुने उनीहरूले स्पष्ट पारेका छन् । राप्रपाबाट अलग हुने नेता तथा कार्यकर्ताहरूको नामावली क्रमशः प्रकाशित गरिने पनि जनाइएको छ ।

यसअघि बिहीबार सिम्खडाको अध्यक्षतामा बसेको जिल्ला समिति बैठकले राप्रपाबाट अलग हुने निर्णय गरेको थियो । यो समूह अब डा. धवलशम्शेर राणाको नेतृत्वमा गठन हुने नयाँ पार्टीमा जाने तयारी छ ।

यसअघि गत जेठमा राणा पक्षका १८३ जना नेता कार्यकर्ताले पनि सामूहिक विज्ञप्ति जारी गर्दैपार्टी परित्याग गरेका थिए ।

प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्