केरुङ्ग खोला पुलको उद्घाटन


 


चितवन,२८ वैशाख । माडी–ठोरी जोड्ने वैकल्पिक पुलको उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २४ केरुङ्ग खोलामा बनेकोे पुलको उद्घाटन गरिएको हो । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।

प्रदेश सरकारको रु ७ करोड ९८ लाख १८ हजारको लागतमा निर्माण गरिएको पुल ७४ मिटर लम्बाई र फुटपाथसहित ८ दशमलव ४ मिटर चौडा रहेको छ । वि.सं. २०७९ साल चैत १९ गते सम्झौता भई निर्माण सुरु भएको पुल म्याद सकिन भन्दा ६ महिना अगाडि निर्माण सम्पन्न छ ।

कार्यक्रममा बोल्दै पूर्वाधार मन्त्री दुलालले पूर्वाधार विकासमा जनतालाई अनुभूति दिने गरी विकास निर्माणमा प्रदेश सरकार लागि परेको बताउनुभयो । जनतालाई विकास दिन प्रदेश सरकार तत्पर रहेको उहाँको भनाई छ । बजेट अभावका कारण प्रदेश सरकारले जनताको अपेक्षाअनुसार योजनाहरु बढाउन नसकेकोे उल्लेख गर्नुभयो ।

पुलले भरतपुर २३ र २४ नम्बरलाई जोडेको छ । कार्यक्रममा पुल निर्माण गर्ने निर्माण कम्पनी केबिसी बिल्डर्स कम्पनी लिमिटेडका प्रमुख कुमार आचार्यलाई सम्मान गरिएको छ । पुल निर्माणको निर्धारित मितिभन्दा अगाडि निर्माण सम्पन्न गरेको भन्दै सम्मान गरिएको हो । निर्माण कम्पनीले समयमै निर्माण कार्य पुरा नगर्ने समस्या रहेका समयमा ६ महिना अघि निर्माण सम्पन्न गरी उदाहरणीय काम गरेको छ । कम्पनीले भरतपुरमा रहेका आयोजनाहरुको भौतिक प्रगति छिटो गरेको पाइन्छ ।

प्रकाशित मिति: २८ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्