आफूलाई फसाउनेविरुद्ध कानुनी उपचार खोज्ने सिरोहियाको घोषणा


 


काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले कानुनी उपचार खोज्ने भएका छन् ।

हाजिरी जमानीमा रिहा भएपछि उनले विज्ञप्ति जारी गर्दै प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी पक्राउ गरेकोमा आपत्ति जनाएका हुन् ।

प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी आफूलाई पक्राउ गरेर ९ दिनसम्म हिरासतमा राखेकाले यस योजनामा संलग्न सबैलाई जवाफदेही बनाउन कानुनी उपचारको बाटो खोज्ने सिरोहियाले बताए ।

सिरोहियाले कान्तिपुरको पत्रकारिता र सञ्चारमाध्यमलाई तर्साउन आफूलाई पक्राउ गरिएकोमा अब कुनै शंका नरहेको पनि बताए ।

‘प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी मलाई पक्राउ गरी ९ दिनसम्म हिरासतमा राखिएकामा यो योजनामा संलग्न सबैलाई जवाफदेही बनाउन कानुनी उपचारको बाटो खोज्ने जानकारी गराउन चाहन्छु । त्यस्तै म गैरनेपाली रहेको, मसँग दुईरतीन थरी नागरिकता रहेको र मेरो नागरिकतामा हस्ताक्षर र मितिसमेत नरहेको जस्ता हल्ला फैलाउनेहरूलाई आफ्नो दाबी प्रमाणित गर्न सार्वजनिक चुनौती दिन चाहन्छु,’ उनले भनेका छन् ।

हेर्नुहोस् विज्ञप्ति :

मितिः २०८१-०२-१६

प्रेस विज्ञप्ति

सुशासन र लोकतन्त्रको पक्षमा तथा बेथितिका विरुद्ध विगत ३१ वर्षदेखि निर्भीक पत्रकारिता गर्दै आएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष मलाई नागरिकता कसुरको आधारहीन आरोपमा पक्राउ गरी विगत ९ दिनदेखि थुनामा राखिएकामा आज हाजिरी जमानीमा रिहा गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयसमेतको सहमतिमा जिल्ला प्रहरी कार्यालय धनुषाले मलाई फौजदारी कार्यविधि संहिताको दफा १५९१० अनुसार ‘थप अनुसन्धानका लागि थुनामा राखिरहन नपर्ने’ भन्दै रिहा गरेको हो ।

मलाई जसरी पनि पक्राउ गर्ने, कान्तिपुरको पत्रकारितालाई दुर्बल बनाउने र अरू सञ्चारमाध्यमलाई पनि तर्साउने दुष्प्रयासले यो हरकत भएको थियो भन्नेमा अब कुनै शंका रहेन ।

बजारमा अनेकथरी हल्ला गरिए पनि मविरुद्ध मूलतः दुई आरोप लगाइएका थिए । अरू कोही व्यक्तिको नागरिकता र मेरो नागरिकताको नम्बर मिलेको विषयमा जिल्ला प्रशासन कार्यालयको आफ्नै संयन्त्रभित्र अध्ययन गर्नुपर्नेमा सेवाग्राही नागरिकलाई पक्राउ गर्नु आफैंमा गैरजिम्मेवार हरकत थियो भन्ने प्रस्ट छ ।

अझ, नागरिकतामा नम्बर मिलेको विषय प्रशासनिक त्रुटि भएकाले नागरिकमाथि कारबाही गर्न नपर्ने भनेर जिल्ला प्रशासन कार्यालयले दिएको लिखित रायलाई समेत दबाएर प्रहरीबाट मलाई पक्राउ गरिएको थियो ।

त्यस्तै मेरो नागरिकताको प्रतिलिपिमा हस्ताक्षरमा शंका गरिएकामा तत्कालीन प्रशासकीय अधिकृतले अरू सरकारी दस्तावेजमा गरेको हस्ताक्षरसँग भिडाएको भए त्यो प्रश्न तत्कालै निरूपण हुने थियो । तर मैले मेरो नागरिकतामा अक्षर आफैँ थपेको भनेर गम्भीर आरोप लगाइएको थियो । हस्ताक्षर कस्को हो भन्ने प्रश्नको जवाफ खोज्न नागरिकता जारी गर्ने अधिकारीलाई बोलाएर सोधपुछ गरिएको भए यो प्रश्न तुरुन्तै हल हुने थियो ।

तर, सरकारी कार्यालयका अभिलेख हेर्न र अधिकारीसँग सोधपुछ गर्नुको सट्टा मलाई किन गरियो भन्ने प्रश्नको उत्तर सचेत नागरिकले पाइसकेका छन् । अझ, पक्राउ गरिएपछि पनि सरकारी कागजपत्र भिडाउन, सम्बन्धित अधिकारीलाई बोलाएर सोधपुछ गर्न तथा फरेन्सिक परीक्षण गर्न मेरा वकिलहरूले पटकपटक आग्रह गर्दा पनि आलटाल भएको विषय पनि म सार्वजनिक अभिलेखमा राख्न चाहन्छु ।

आरोपी पक्षले अनुसन्धानका लागि ताकेता गर्ने र प्रहरी प्रशासनले ढिलाइ गर्ने यस्तो प्रवृत्ति वास्तवमा कानुनी शासनका लागि चुनौती हो भन्ने मेरो ठहर छ ।

पटकपटकको ताकेतापछि सम्बन्धित अधिकारीलाई बोलाएर सोधपुछ गर्दा उहाँले हस्ताक्षर आफ्नो हो भनेर बयान कागज गरिदिनुभएपछि मेराविरुद्धको प्रपञ्च समाप्त भएको छ र अहिले हाजिरी जमानी भन्दै रिहा गरिएको छ । मलाई अहिले हाजिरी जमानीमा छाडिएको छ, थप अनुसन्धानमा सहयोग गर्न म सम्पूर्ण रूपमा तयार छु ।

तर, प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी मलाई पक्राउ गरी ९ दिनसम्म हिरासतमा राखिएकामा यो योजनामा संलग्न सबैलाई जवाफदेही बनाउन कानुनी उपचारको बाटो खोज्ने जानकारी गराउन चाहन्छु ।

त्यस्तै म गैरनेपाली रहेको, मसँग दुईरतीन थरी नागरिकता रहेको र मेरो नागरिकतामा हस्ताक्षर र मितिसमेत नरहेको जस्ता हल्ला फैलाउनेहरूलाई आफ्नो दाबी प्रमाणित गर्न सार्वजनिक चुनौती दिन चाहन्छु । तर, आफ्नो दाबी प्रमाणित गर्न नसक्ने व्यक्ति तथा समूहविरुद्ध कानुनी उपचार खोज्ने अधिकार पनि मसँग सुरक्षित राखेको जानकारी गराउन चाहन्छु ।

अन्तमा, राज्यशक्तिको चरम दुरुपयोगबीच भएको भयानक षड्यन्त्रबीच पनि नेपाली प्रेसजगतले देखाएको ऐतिहासिक ऐक्यबद्धताका सामु म नतमस्तक छु ।

त्यस्तै नागरिक समाज, कूटनीतिक नियोग, प्रेस र मानवअधिकारसम्बन्धी राष्ट्रियरअन्तर्राष्ट्रिय संगठन, कानुन व्यवसायी अधिवक्ता तथा वरिष्ठ अधिवक्ताहरूले न्यायको पक्षमा उठाउनुभएको आवाजका लागि आभारी छु ।

सम्पूर्ण दुष्प्रचारबीच पनि कान्तिपुरमाथि विश्वास व्यक्त गर्ने विशेषतः जनकपुरका बासिन्दा तथा देश–विदेशका नेपाली दाजुभाइप्रति हार्दिक धन्यवाद ।

फेरि पनि यो हरकतप्रति बिनाउत्तेजना, बिनाप्रतिशोध र बिनासम्झौता कान्तिपुरले आफ्नो पेसागत धर्म अविचलित रूपमा पूरा गर्नेछ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु र निर्भीक पत्रकारिता गर्दा आइलाग्ने कुनै पनि आक्रमणको डटेर सामना गर्न तयार रहेको पनि स्मरण गराउन चाहन्छु ।

धन्यवाद ।

कैलाश सिरोहिया
अध्यक्ष
कान्तिपुर मिडिया ग्रुप

प्रकाशित मिति: १७ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्