निर्वाचन आयोगका सिफारिस उम्मेदवारको सुनुवाइ साउन १२ र १३ गते
काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तका लागि सिफारिस भएका व्यक्तिको सुनुवाइ साउन १२ र १३ गते गर्ने भएको छ ।
आज सिंहदरबारमा बसेको समितिको बैठकले साउन १२ गते निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका डा। राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको सुनुवाइ गर्ने निर्णय गरेको हो ।
साउन १३ गते प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका मानबहादुर कार्कीको सुनुवाइ हुनेछ ।
समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार सिफारिस भएका प्रत्येक व्यक्तिविरुद्ध एक–एक वटा उजुरी तथा सुझाव प्राप्त भएका छन् ।
ती उजुरी र सुझाव समिति सदस्यहरूलाई अध्ययनका लागि उपलब्ध गराइनेछ। त्यसपछि तोकिएको मितिमा संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइनेछ ।
संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की र आयुक्त पदमा डा। राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
त्यसपछि संसदीय समितिले प्रस्तावित प्रमुख निर्वाचन तीनै जनाविरुद्ध उजुरी दिन असार २५ गतेदेखि १० दिनको समय दिएको थियो।
प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार







