टी–२० विश्वकप आजबाट, उद्घाटन खेलमा आयोजक अमेरिका र क्यानडा भिड्दै


 


काठमाडौं । टी–२० विश्वकपको नवौँ संस्करण आजदेखि शुरु भएको छ । उद्घाटन खेलमा अहिले आयोजक अमेरिका र क्यानडा खेलिरहेका छन् ।

डालास घरेलु टोली अमेरिकाले टस जितेर पहिला बलिङ रोजेको छ । क्यानडाले ब्याटिङ थालेको छ ।

अमेरिकाले आयोजकका रुपमा पहिलो पटक विश्वकप खेलेको हो । त्यस्तै क्यानडा पनि पहिलो पटक विश्वकपमा पुगेको हो । अमेरिका र वेस्ट इन्डिजले यो विश्वकप संयुक्त रुपमा आयोजना गरेका हुन् ।

केही खेल अमेरिकामा र धेरैजसो खेल वेस्ट इन्डिजमा हुनेछन् । आजको अर्को खेलमा आयोजक वेस्ट इन्डिज र पपुवा न्यूगिनी (पीएनजी) बेलुका खेल्नेछन् ।

यसपालीको विश्वकपमा २० देश– आयोजक अमेरिका र वेस्ट इन्डिजसहित, नेपाल, भारत, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, इंग्ल्यान्ड, आयरल्याण्ड, नेदरल्याण्डस, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टोली छन् ।

नेपालले दोस्रो पटक विश्वकप क्रिकेट खेल्दैछ । यसअघि सन् २०१४ मा नेपालले बंगलादेशमा भएको टि–२० विश्वकप खेलेको थियो । अहिले १० वर्षपछि विश्वकप खेल्न लागेको हो ।

नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलंका, नेदरल्याण्डस र बंगलादेश रहेका छन् । नेपालले पर्सी मंगलवार नेदरल्याण्डससँग पहिलो खेल खेल्नेछ ।

प्रकाशित मिति: २० जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्