१०औँ राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ : मन्त्री श्रेष्ठ


 


सुर्खेत, जेठ २८ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताउनुभएको छ ।

आगामी मङ्सिरमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेल पूर्वाधार तथा निर्माणको गति बुझ्न सुर्खेत आउनुभएका मन्त्री श्रेष्ठले आज निर्माणस्थलको अनुगमन गर्नुभयो ।

वीरेन्द्रनगरस्थित निर्माणाधीन प्रदेश रङ्गशालाको अनुगमन तथा निरीक्षण गरेपछि मन्त्री श्रेष्ठले कर्णालीमा खेलकुदको भारी विकास हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले कर्णालीले पहिलोपटक यति ठूलो संरचना निर्माण गर्दा कर्णालीको खेलकुद विकास मात्र नभइ, अन्य क्षेत्रले पनि सिको गर्न सक्ने बताउनुभयो । “कर्णालीले जमर्को गरेर १०औँ राष्ट्रिय खेलकुदलाई महोत्सव मनाउन अपिल गर्दछु,” उहाँले भन्नुभयोे, “यही अवस्थामा खेलकुद हुन्छ कि हुन्न भन्ने आशङ्का पनि छ । तर १० औँ राष्ट्रिय खेलकुद जसरी भएपनि हुन्छ ।’’

दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको उत्तिकै भूमिका रहने उहाँको भनाइ छ । संरचना निर्माणको सन्दर्भमा सङ्घले बजेट दिन नसकेको उहाँले स्वीकार गर्नुभयो । उहाँका अनुसार केन्द्रले १० करोड छुट्याउन खोजेको थियो, तर बजेट अभावका कारण प्रतियोगितामा मात्रै केन्द्रित गरिएको छ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले प्रदेशको क्षमताअनुसार १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित मिति: २८ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्