दुई लाख बढीले क्यान मेलाको अवलोकन


 


काठमाडौँ, माघ १६

भृकुटीमण्डपमा जारी ‘सुविसु क्यान इन्फोटेक’ मेलाको आज चौथो दिनसम्म दुई लाख सात हजार बढीले अवलोकन गरेका छन् । प्रदर्शनीको पहिलो दिन ३४ हजार १५४, दोस्रो दिन ३६ हजार ११८ र चौथो दिन आज ६७ हजार २०८ जनाले अवलोकन गरेका थिए ।

प्रदर्शनीमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको र बालकदेखि वृद्धसम्मको भिडले नेपालमा सूचना प्रविधिप्रति चासो बढेको आयोजक क्यान महासङ्घका महासचिव विश्वराम बलामीले बताउनुभयो ।

मेलाको आज पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलगायत विभिन्न विशिष्ठ व्यक्तिले अवलोकन गर्नुभएको थियो ।

सुविसु केवलनेटले प्रदर्शनीमा ल्याएको इन्टरनेट र क्लियर टिभीको जम्बो अफरमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । सुविसुले मात्र रु ७९९९ मा यो कम्बो अफर ल्याएको हो ।

त्यसैगरी सामसुङका स्मार्टफोनमा पनि अवलोकनकर्ताको घुइँचो लागेको छ । यसपटकको इन्फोटेकमा ग्याजेट्सहरुको रौनक देखिएको छ । सामसुङका अतिरिक्त हुवावे, ओप्पो, मेइजु, लेनोभो, माइक्रोम्याक्स, वानप्लस, एमआइ, ब्लाकभ्यूलगायतका कक्षमा अवलोकनकर्ताको भीड देखिएको छ ।

त्यसैगरी इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेट, वेबसर्फरका साथमा नेपाल टेलिकमको फोर जी अफरमा विशेष आकर्षण रहेको क्यान महासङ्घको विज्ञप्तिमा जनाइएको छ । प्रदर्शनमा विभिन्न हार्डवेयर र सफ्वेयर गरी १५८ कम्पनीका २२२ कक्ष रहेका छन् ।

प्रकाशित मिति: १६ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्