सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको बयान जारी
सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको बयान जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज पनि बयान सुरु भएको छ।
सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि काठमाडौं ल्याइएका सभापति लामिछानेको बयान सरकारी वकिलको कार्यालयमा सुरू भएको हो।
काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट बिहीबार काठमाडौं ल्याइएको थियो । शुक्रबारदेखिनै उनको बयान सुरु गरिएको थियो।
जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबार बिहान ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्म उनको बयान चलेको थियो । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी भएको थियो ।
उनीसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीलाई बयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ ।
पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन भएको प्रकरणमा प्रहरीले लामिछानेलाई २ कात्तिकमा प्रहरीले वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको थियो ।
प्रकाशित मिति: १६ मंसिर २०८१, आइतबार
















