आगलागी हुँदा ४२ लाख बराबरको क्षति


 


झापा, फागुन ५
झापाको गौरादह नगरपालिकाको एक घरमा आगलागी हुदा दुई परिवारको ४२ लाख मूल्य बराबरको क्षति भएको छ । आगलागी विद्युत सर्ट भएर लागेको बताइएको छ । आज विहान साढे एक बजेतिर गौरादह–१ का देवराज लिम्बूको दुइ तले काठको घरमा आगलागी हुदा लिम्बूको ३१ लाख र उनको घरमा डेरा गरी बस्ने लखनपुर–६ की निरा सुब्बाको ११ लाख गरी ४२ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट लिम्बूको घरसंगै ३ वटा खसी, २ वटा बाख्रा, ४ वटा पाठा, १५० वटा कुखुरा, ६० मन धान र ७ मन चामल जलेर खरानी भएको इलाका प्रहरी कार्यालय गौरादहका प्रहरी नायव निरीक्षक नगेन्द्रकुमार भगतले जानकारी दिए । त्यस्तै, उनको घरमा डेरागरी बस्ने सुब्बाको नगद २ लाख ५० हजार, ५ तोला सुन, २० तोला चाँदीसहित कोठाभित्रका सबै सामान जलेर नष्ट भएको छ ।

गौरादहमा घर निर्माण गरिरहेकी सुब्बाले हिजो मात्रै कोरियामा रहेका श्रीमान् धन सुब्बाले पठाइदिएको अढाई लाख रुपैयाँ बैंकबाट निकालेकी थिइन् । दमक र विर्तामोडको दमकल तथा स्थानीयको सक्रियतामा आगलागी डेढ घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्