आईएमई लाइफले फेलोसिप सोसाइटी नेपाललाई गर्यो ५ लाख सहयोग
काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले फेलोसिप सोसाइटी नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत दृष्टिविहीन विद्यार्थीहरूको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरेको जनाएको छ ।
कम्पनीले उपलब्ध गराएको उक्त रकमबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि ब्रेल कागज, स्लेट तथा स्टाइलस, कम्प्युटर र स्क्रिन रिडर सफ्टवेयरलगायतका शैक्षिक सामग्री खरिद गरिने जनाइएको छ ।
आईएमई लाइफका अनुसार सहयोगबाट काठमाडौंको लोलाङ, दाङ र सुर्खेतस्थित तीन विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । यसले उनीहरूको शिक्षामा सहज पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
समावेशी शिक्षा र समान अवसर समाज विकासका महत्त्वपूर्ण आधार भएको विश्वासका साथ कम्पनीले यस्ता सामाजिक कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ । दृष्टिविहीन विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउँदा उनीहरूको शैक्षिक उपलब्धि र आत्मविश्वास अभिवृद्धिमा सकारात्मक प्रभाव पर्ने कम्पनीको अपेक्षा छ ।
फेलोसिप सोसाइटी नेपालले सन् २००० देखि दृष्टिविहीन बालबालिकाको शिक्षा तथा अधिकारको क्षेत्रमा काम गर्दै आएको छ । संस्थाको अनुभव र आईएमई लाइफको सामाजिक प्रतिबद्धताले समावेशी समाज निर्माणमा थप योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
‘इन्स्योरिङ फ्युचर’को मूल मन्त्रलाई आत्मसात गर्दै आएको आईएमई लाइफले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
प्रकाशित मिति: ४ असार २०८३, बिहिबार












