सबै देशभक्तलाई समेटेर वैकल्पिक शक्ति बनाउनुपर्छ : भीम रावल



धनगढी । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले सबै देशभक्तलाई समेटेर वैकल्पिक शक्ति बन्ने दाबी गरेका छन् ।

एमाले स्थायी कमिटी सदस्य कर्ण थापासँगै काठमाडौंबाट धनगढी विमानस्थलमा ओर्लिएका नेता रावलले सो कुरा बताएका हुन् ।

रावलले अहिले मातृभूमि जागरण अभियान चलाइरहेका छन्। उनले यो अभियानमा काठमाडौंका मेयर बालेन्द्र साह बालेन लाई समेत समेटेर अगाडि बढ्दा राम्रो हुने धारणा समेत सार्वजनिक गरे।

नेता रावलले भने, ‘बालेनजी हुनुहुन्छ, जोजो हुनुहुन्छ, ती सबलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढाएदेखि राम्रो हुन्थ्यो भने धारणा छ।’

त्यस्तै, रास्वपा सभापति रवि लामिछानेबारे बोल्दै रावलले अदालतमा भएको कुरामा टिप्पणी नगर्ने बताए। रावल विमानस्थल ओर्लिंदा उनका समर्थकहरुले एमालेको विरोधमा नारा लगाए थिए ।

उनले अहिलेको देशको अवस्था परिवर्तनका लागि धेरै मानिसहरुसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।

रावलले ठूला राजनीतिक दल गन्तव्यहीन, आदर्शहीन र सिद्धान्तहीन भएको आरोप लगाउँदै राष्ट्र र राष्ट्रियता जोगाउन सबै एक हुनुपर्ने धारणा राखे ।

प्रकाशित मिति: ४ माघ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्