एकल पुरुषलाई मासिक भत्ता
स्याङ्जा, माघ ६ । स्याङ्जाको हरिनास गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिन निर्णय गरेको छ ।
पालिकाको १६ औँ गाउँ सभामा कार्यविधि बनाएर ६० देखि ६८ वर्ष उमेरका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको हो ।
कार्यविधिमा तोकिएको उमेर भएको र कुनै सरकारी सेवामा नरहेको तथा स्वदेशबाट मात्रै नभएर वैदेशिक निकायबाट समेत सेवा प्राप्त नगरेकाहरूलाई भत्ता दिने भएको हो । एकल पुरुषले श्रीमतीको मृत्यु भएको वा अदालतबाट सम्बन्धविच्छेद भएर पुनः विवाह नभएको प्रमाणित कागजपत्र हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
प्रक्रिया पूरा गरेको अवस्थामा वडा कार्यालयबाट मासिक रूपमा एक हजार रुपियाँ एकल पुरुष भत्ता प्रदान गरिने गाउँपालिकाले जनाएको छ । श्रीमतीको मृत्यु वा सम्बन्धविच्छेदबाट एकल पुरुषलाई जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले भत्ता दिने निर्णय गरिएको पालिकाका अध्यक्ष खिमनारायण मानन्धरले बताए ।
प्रकाशित मिति: ६ माघ २०८१, आइतबार












