महाकुम्भमा भागदौड मच्चिएपछि संगम नोज नजान योगी आदित्यनाथको आग्रह
प्रयागराजको कुम्भमा गएराति भागदौड मच्चिँदा कम्तीमा १४ जनाको मृत्यु भएको आशंका गरिएको छ भने दर्जनौं घाइते भएका छन्।
यो घटनापछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भक्तजनहरूलाई संगम नोज नजान अनुरोध गरेका छन्। उनले श्रद्धालुहरूलाई जुन घाटमा छन्, त्यहीँ स्नान गर्न आग्रह गरेका बीबीसी हिन्दीले जनाएको छ ।
कुम्भको शुरूआत जनवरी १३ मा पौष पूर्णिमाको पहिलो स्नानसँगै भएको थियो। दोस्रो दिन, अर्थात्, जनवरी १४ का दिन मकर संक्रान्तिमा कुम्भको दोस्रो तथा अखाडाहरूको पहिलो अमृत स्नान सम्पन्न भएको थियो।
कुम्भमा अमृत स्नानलाई विशेष महत्त्व दिइन्छ। यसलाई ‘राजयोग स्नान’ पनि भनिन्छ। महाकुम्भ मेला हिन्दू धर्मको सबैभन्दा प्रमुख धार्मिक अनुष्ठानमध्ये एक हो।
यस क्रममा संगमको ठूलो भाग अखाडाहरूका लागि आरक्षित गरिएको थियो। नागा साधुहरूलाई संगम घाटसम्म लैजान काठका बल्लीहरू राखेर विशेष बाटो बनाइएको थियो।
संगम नोज के हो?
संगम नोज त्यो स्थान हो, जहाँ गंगा र यमुना नदीको संगम (मिलन) हुन्छ। यही कारणले गर्दा यस स्थानमा श्रद्धालुहरूको सर्वाधिक भीड लाग्छ।
यहाँ दुवै नदीहरूको पानी फरक-फरक रंगको देखिन्छ। यमुना नदीको पानी हल्का नीलो हुन्छ भने गंगाको पानी हल्का पहेँलो मटमैलो देखिन्छ। यहीँ आएर यमुना गंगामा विलीन हुन्छ। कुम्भ मेलामा यस क्षेत्रलाई ‘संगम घाट’ भनेर चिनाइन्छ।
बीबीसीसँग कुराकानी गर्दै प्रयागराजका ज्योतिषाचार्य पण्डित रमेश पाण्डे भन्छन्, ‘संगम नोज त्यो स्थान हो, जहाँ विभिन्न अखाडाका साधु-सन्तहरूले आफ्ना धार्मिक अनुष्ठान र अमृत स्नान सम्पन्न गर्छन्। अमृत स्नानको दिन अखाडाहरूलाई संगम घाटसम्म पुग्न छुट्टाछुट्टै बाटो बनाइन्छ।’
संगम नोजको विस्तार
समाचार एजेन्सी पीटीआईका अनुसार, उत्तर प्रदेश सिंचाई विभागको ‘मेकानिकल बैरेज मेन्टेनेन्स’ युनिटले शास्त्री पुल र संगम नोजको बीचमा २६ हेक्टर क्षेत्रफलको विस्तार गरेको छ।
अधिकारिहरूका अनुसार कुम्भ मेलालाई ध्यानमा राख्दै ८५ दिनभित्र तीन सिफ्टमा निरन्तर काम गरी संगम नोजको स्नान क्षेत्रलाई दुई हेक्टरले बढाइएको छ।
श्रद्धालुहरूको ठूलो भीडलाई व्यवस्थित गर्न १६५० मिटर क्षेत्रमा बालुवाका बोरा बिछ्याएर संगम घाटको क्षेत्रफल विस्तार गरिएको थियो।
यसका लागि चारवटा ठूला ड्रेजिङ मेसिनहरूको प्रयोग गरिएको थियो, जसको मद्दतले संगम घाटमा स्नानका लागि ठूलो क्षेत्रफलको निर्माण गरिएको थियो।
अधिकारिहरूका अनुसार, २०१९ मा संगम नोजमा प्रतिघण्टा ५० हजार श्रद्धालुले स्नान गर्न सक्थे, तर अब प्रतिघण्टा दुई लाखभन्दा बढी श्रद्धालुले स्नान गर्न सक्नेछन्।
प्रकाशित मिति: १६ माघ २०८१, बुधबार
















