‘पूर्वप्रधानसेनापति र पूर्वप्रधानन्यायाधीश लक्षित बस्नेतको टिप्पणी – सपथको प्रतिवद्धताले हावा खाए जस्तो छ
काठमाडौं । नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले पूर्वप्रधानन्यायाधीशदेखि पूर्वप्रधानसेनपतिसम्मले सपथ मर्यादाको उल्लंघन गरिरहेको भन्दै संसदमा प्रश्न उठाएका छन् ।
आइतबार राष्ट्रिय सभाको बैठकमा पदीय जिम्मेवारी लिनु अगाडि लिइने सपथको मर्यादा उल्लंघन गर्ने क्रम बढेको भन्दै उनले प्रश्न उठाएका हुन् । सपथ लिनुपर्ने कानूनी व्यवस्था अनुसार सपथ लिएर जिम्मेवारी लिने र जिम्मेवारीबाट बाहिरिएपछि सपथको मर्यादा उल्लंघन गर्ने क्रम बढेको उनको दावी थियो ।
बैठकमा बस्नेतले सपथको व्यहोरा पढेरै सुनाएका थिए । सपथको व्यहोरामा सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो कर्तव्य पालनको शिलशिलामा आफूलाई जानकारी आएका विषय पदमा बहाल रहँदा वा नरहँदा समेत प्रकट गर्न नहुने उल्लेख छ ।
बस्नेतले भने–‘तर, पछिल्लो समयमा सपथको प्रतिवद्धताले हावा खाए जस्तो छ । राज्यका उच्चतम तहमा पुगेर पदीय जिम्मेवार वहन गरी बाहिर आएका अधिकांश महानुभावहरूलाई पनि सस्तो लोकप्रियताको भूत चढे जस्तो छ ।’
सामाजिक सञ्जालमा चर्चित हुने भोकले पदीय मर्यादा र दायित्व कम निर्वाह भइरहेको हो कि भन्ने प्रश्न गर्दै उनी भन्छन्–‘नेपाली सेनाको प्रधानसेनापतिदेखि सर्वोच्च अदालतको प्रधानन्यायाधीश, न्यायाधीश भइसकेका कतिपय महानुभावहरूलाई आत्मकथा लेख्ने र भए/नभएका दन्त्य कथा बाहिर ल्याएर चर्चाको शिखरमा पुग्ने होडबाजीले पिरोल्दैछ आज ।’
तर, यस्तो प्रवृत्ति गलत रहेको उनले बताए । कतिपय सम्माननीय पूर्वपदाधिकारी तथा पूर्वन्यायाधीश, पूर्वप्रधानन्यायाधीशहरू मिडिया र सामाजिक सञ्जालमार्फत अनेक विवादास्पद अभिव्यक्ति दिनमा तल्लिन रहेको उनले आरोप लगाए । तर, ती को हुन भनेर खुलाएनन् ।
चर्चाकै लागि उच्च पदस्थ कर्मचारीहरुले जिम्मेवारीबाट बाहिरिएपछि गोप्य सूचना बाहिर ल्याउने गरिए के होला भन्दै उननले प्रश्न समेत उठाएका छन् ।
प्रकाशित मिति: २७ माघ २०८१, आइतबार
















