निर्यातजन्य उद्योगका समस्या समाधान गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री वालेन्द्र शाह
काठमाडौँ, ८ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार तथा निर्यात प्रवर्द्धनका लागि उद्यमी–व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपालका प्रमुख निर्यातजन्य उद्योगसँग आबद्ध संघ–संस्थाका प्रतिनिधिसँग भएको छलफलमा उनले उद्योगी–व्यवसायीका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गर्ने बताए।
छलफलमा नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङले अमेरिकी बजारमा निर्यातका क्रममा ‘कन्जुमर प्रोडक्ट सेफ्टी कमिसन’को प्रमाणीकरण अनिवार्य भएकाले समस्या भइरहेको जानकारी गराए। त्यसपछि प्रधानमन्त्री शाहले आवश्यक कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयलाई निर्देशन दिए।
कच्चा पदार्थ ऊनको क्वारेन्टिन प्रमाणीकरण हप्तामा दुई दिन गर्ने व्यवस्था मिलाउन पनि उनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। साथै गलैँचा विकास बोर्ड गठनप्रति सकारात्मक रहेको जनाउँदै कर्णाली र सुदूरपश्चिममा भेडापालन तथा ऊन उत्पादन वृद्धि गर्न सरकारले सहयोग गर्ने बताए।
नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरेले सस्तो भन्सार दरमा कच्चा पदार्थ भारत निर्यात भइरहेको विषय उठाएपछि प्रधानमन्त्री शाहले भन्सार शुल्क बढाएर कच्चा पदार्थको अनियन्त्रित निर्यात निरुत्साहित गरिने बताए।
नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले वन ऐनका कारण हिमाली क्षेत्रमा भेडापालन प्रभावित भएको विषय उठाएपछि प्रधानमन्त्री शाहले आवश्यक छलफल गरी कानुनी व्यवस्था परिमार्जन गर्ने आश्वासन दिए।
त्यस्तै, नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेलले डग च्यु उद्योगलाई ‘पेट फुड’ उद्योगका रूपमा वर्गीकरण गर्न तथा स्किम्ड मिल्क पाउडर आयात सहज बनाउन माग गरेका थिए। प्रधानमन्त्री शाहले उक्त विषयमा अध्ययन गरी उपयुक्त निर्णय लिइने बताए।
प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार







