प्रधानमन्त्री ओलीले संविधान खारेज गर्न चाहेको प्रचण्डको आरोप
जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको बताएका छन् ।
जनकपुरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले परिवर्तन र संविधान नै खारेज गर्न चाहेको बताएका हुन् । उनले भने–‘हामीले धेरैपटक भनिनै सकेका छौं । उहाँले त आन्दोलन परिवर्तन सबै बर्बाद होस्, संविधान नै खारेज गर्न चाहने हो नि त हाम्रो अहिलेको प्रधानमन्त्री त ।’
अध्यक्ष प्रचण्डले यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि त्यही भएको दाबी गरे ।
उनले आफूले मधेशी जनताको माग बमोजिम दुईपटक संविधान संशोधनको प्रस्ताव लैजाँदा रोक्ने पनि वर्तमान प्रधानमन्त्री ओली नै भएको बताए । उनले भने–‘मैले मधेशी जनताका लागि दुईपटक संसदमा संविधान संशोधनको प्रस्ताव लगेको हो । तर, केपी ओली त्यस्ता नेता हुन् जसले रोके ।’
प्रचण्डले जनता समाजवादी पार्टी नेपाल मन्त्री र सरकारको लोभमा अध्यादेशको पक्षमा नजाने र अध्यादेश स्वीकृत नहुने दाबी समेत गरे ।
प्रर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले केपी शर्मा ओली रहँदासम्म बाम एकता नहुने दावी गरे । उनले भने–‘केपीजी रहँदासम्म नेपालमा कम्युनिस्ट एकता, बामपन्थी एकता हुने स्थिति छैन ।
प्रचण्डले तत्काल आफूहरुको सरकार बनाउनेतर्फ ध्यान नभएकाले कांग्रेससँग पनि सहकार्य नहुने बताए । उनले आफूहरु अहिले पार्टी सुदृढीकरणमै ध्यान दिइरहेकोले जनतातर्फ नै फर्किएको बताए ।
‘अहिले सरकारमा हाम्रो ध्यान छैन । हामी जनतामा जाने, जागरण ल्याउने, नयाँ किसिमले पार्टी विस्तार गर्ने, सुदृढीकरण गर्ने अभियानमा छौं । यो अभियान हाम्रो लागि जरुरी भएको छ’, प्रचण्डले भने–‘देशको लागि जरुरी भएको छ । हाम्रो उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायको निम्ति अझ मधेशी जनताका निम्ति अझ बढी आवश्यकता भएको छ ।’
प्रकाशित मिति: २८ माघ २०८१, सोमबार
















