विद्यार्थीको सुरक्षाका लागि नेपाल प्रहरी ओडिसा पुगिसकेको छ : परराष्ट्रमन्त्री राणा
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली विद्यार्थीको सुरक्षा समन्वय गर्न नेपाल प्रहरीको टोली ओडिसा पुगेको बताएकी छन् ।
परराष्ट्रमन्त्री राणाले सामाजिक संञ्जालमा लेख्दै सो कुराको जानकारी दिएकी हुन् ।
भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयमा नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था गर्नका लागि नेपाल प्रहरीको टोली पुगेको उनले बताइन् ।
परराष्ट्रमन्त्री राणाले नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी विद्यालय पुगेको बताइन् ।
परराष्ट्रमन्त्री राणाले लेखेकी छन्,‘नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्नुभएको छ।’
उक्त कलेजको होस्टेलमा बुटवलकी प्रकृति लम्साल शंकास्पद रुपमा मृत भेटिएपछि विकसित परिस्थितिलाई सरकारले निरन्तर फलोअप गरिरहेको परराष्ट्रमन्त्री राणाले बताइन् ।
परराष्ट्रमन्त्री राणाले घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएको बताइन् ।
प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलबार
















