ऊर्जामन्त्रीको निर्देशनपछि चमेलियाको कामले गति लियो


 


बैतडी, फागुन २२

दार्चुलाको शिखर गाविस बलाँचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सुरुङको सबै काम सम्पन्न भएको छ ।

ऊर्जामन्त्री जर्नादन शर्माले गत माघ २९ गते स्थलगत निरीक्षण गर्नुहुँदै चमेलिया जलविद्युत् आयोजनाको काम छिटो सक्न निर्देशन दिनुभएको थियो ।

चमेलिया जलविद्युत् आयोजनाको कुल ४.६ किलोमिटर सुरुङमध्ये आठ सय ४३ मिटर साँघुरिएको थियो । जसमध्ये ६ सय ११ मिटर काम सम्पन्न भइसकेको थियो ।

साँघुरिएको दुई सय ३२ मिटर सुरुङ खोल्न सन् २०१६ सेप्टेम्बर २८ देखि सुरु भएको र शनिबार सम्पन्न भएको आयोजनाका प्रमुख अजय दाहालले जानकारी दिनुभयो । “साँघुरिएको सुरुङ खोल्ने काम सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “अब रकट्र्याक खोल्ने काम सुरु भएको छ ।”

सन् २०१७ को सेप्टेम्बरमा परीक्षण उत्पादन गर्ने र सन् २०१७ को डिसेम्बरसम्म परीक्षण गरी विद्युत् सञ्चालन गरिने लक्ष्यका साथ आयोजनाको अन्य काम द्रुत गतिमा भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

आयोजनाको एक सय ३२ किलोभोल्टको प्रसारण लाइन दार्चुलादेखि अत्तरियासम्मको सबै बनिसकेको बताइएको छ ।साँघुरिएको सुरुङ खोल्ने काम सम्पन्न भइसकेको अब रकट्र्याक खोल्ने काम भइरहेको छ ।

कुल ६५ मिटर रकट्र्याकमध्ये १३ मिटर सम्पन्न भइसकेको र अब ५२ मिटर मात्रै बाँकी रहेको बताइएको छ । चमेलियाको जलविद्युत् आयोजना सम्पन्न भए सुदूरपश्चिम विद्युत्भार कटौतीमुक्त हुने छ ।

सन् २०१७ को डिसेम्बरमा चमेलिया जलविद्युत् आयोजनाको काम सम्पन्न हुने भएपछि सुदूरपश्चिम विद्युत्भार कटौतीमुक्त हुने भएकाले हर्षित भएका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्