टेस्लाको नाफा घटेपछि डज प्रमुखको जिम्मेवारी घटाउँदैछन् मस्क
वासिङ्टन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले मे महिनादेखि विद्युतीय कार बनाउने आफ्नो कम्पनी टेस्लामा बढी समय दिने भनेका छन् । कम्पनीको सेयरमा पहिरो गइरहेको अनि पहिलो त्रैमासमा कम्पनीको मुनाफामा उच्च कमी आएकै समयमा मस्कको यस्तो बयान आएको हो ।
अमेरिकामा सङ्घीय सरकारको खर्च र रोजगारी कटौतीका कारण मानिसहरू मस्कसँग रुष्ट छन् । यसको प्रत्यक्ष असर टेस्लामा परिरहेको छ ।
टेस्लाले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार यस वर्षको पहिलो त्रैमासमा कम्पनीको मुनाफा ७१ प्रतिशतले घटेर ४० करोड डलरमा झरेको छ । मुनाफामा आएको यो कमी अनुमान गरिएभन्दा निकै धेरै हो ।
समीक्षा अवधिमा टेस्लाको कूल आम्दानी पनि ९ प्रतिशतले घटेर १९ अर्ब डलरमा झरेको छ । ट्रम्पसँग निकटता अनि डज प्रमुखको रूपमा उनको क्रियाकलापहरूबाट मानिसहरू मस्कसँग निकै रिसाएका छन् ।
पछिल्लो समय अमेरिकामा टेस्लाका कारहरूमा तोडफोडका घटना बढेका थिए । कम्पनीलाई आफ्ना कार बेच्न धेरै कठिनाइ भइरहेको छ ।
यो देखेर ट्रम्पले पनि सार्वजनिक रूपमा टेस्लालाई समर्थन गरेर कम्पनीको कार किनेका थिए । तर यति हुँदा पनि स्थितिमा सुधार आएको छैन । यस्तोमा स्थिति अनियन्त्रित बन्नुअघि मस्क आफैँले मे महिनादेखि टेस्लामा ध्यान केन्द्रित गर्ने र कम्पनीलाई बढी समय दिने घोषणा गरेका छन् ।
मस्कको यो फैसलापछि टेस्लाका लगानीकर्ताहरू खुसी छन् । ‘यो सही दिशामा लिइएको एक कदम हो,’ वेडबश सेक्युरिटीजका डान इभ्सले भनेका छन् । यसवर्ष टेस्लाको सेयर ४० प्रतिशतले घटेको छ ।
प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार
















