हर्क साम्पाङ र उनका समर्थक चंखेविरुद्ध प्रहरीमा कसले हाल्यो उजुरी ?
काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङविरुद्ध प्रहरीमा उजुरी परेको छ।
धरान–११ स्थित नगरकोट–बानडाँडा सडक र ड्रेन निर्माणसम्बन्धी विवाद समाधानका लागि मंगलबार स्थलमा पुगेका मेयर साम्पाङ र स्थानीय बासिन्दा सन्तोष लिम्बूबीच वादविवाद भएको थियो।
विवादपछि लिम्बूले साम्पाङ, वडा नं. ११ का अध्यक्ष लोकेन्द्र फागो र साम्पाङका समर्थक जोन लिम्बू (चङ्खे) विरुद्ध हातपात प्रकरणमा प्रहरीमा उजुरी दर्ता गराएका हुन्।
प्रदेश सरकारले सडक स्तरोन्नतिको लागि विनियोजन गरेको २० लाख रुपैयाँमध्ये यस आर्थिक वर्षमा सीमित क्षेत्रमै खर्च हुने भएपछि स्थानीय असन्तुष्टि चुलिएको थियो। सोही विषयमा छलफलका लागि मेयर साम्पाङ निर्माणस्थल पुगेका थिए।
विवाद चर्किंदै जाँदा साम्पाङका समर्थक जोन लिम्बूले सन्तोष लिम्बूमाथि हातपात प्रयास गरेका आरोप लगाइएको उजुरीमा उल्लेख छन्।
प्रमुख हर्क साम्पाङ र सन्तोष लिम्बूबिच सोमबार भनाभन भएको थियो । त्यसबेला लिम्बूलाई नगर प्रमुखले हैसियत सोधेका थिए । लिम्बूले आफू नागरिक भएको बताएका थिए ।
साम्पाङले झोक्किएर तपाईँले के गर्नुहुन्छ ? भन्दै आक्रोश देखाएपछि उनका समर्थक चङ्खे भन्ने जोन लिम्बूले उनीमाथि आक्रमण गरेका हुन् । साम्पाङले आफ्ना समर्थक लिम्बूमाथि जाइलाग्दा मौन बसेका थिए ।
पीडितले घटनाको समयमा नगरप्रमुख साम्पाङ मौन रहेर समर्थकको हिंसात्मक व्यवहारप्रति कुनै प्रतिक्रिया नजनाएको गुनासो छ।
नगरकोट टोल विकास संस्थाका अध्यक्षसमेत रहेका लिम्बूले मेयरको उपस्थितिमै आफूमाथि कुटपिट प्रयास भएको भन्दै दोषीहरूमाथि कानूनी कारबाहीको माग गरेका छन्।
धरान–११ नगरकोट टोल विकास संस्थाका अध्यक्ष लिम्बू माओवादीका कार्यकर्ता हुन् । इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएको बताउँदै उनले दोषीमाथि कारबाहीको माग गरेका छन् ।
ड्रेन कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मातहतको पूर्वाधार कार्यालयले ठेक्का लगाएर निर्माण गरेको हो ।
धरान प्रहरीले उजुरी प्राप्त भएको पुष्टि गरेको छ र घटनाको अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ।
प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार
















