विश्वका सुन्दर मुद्राको सूचीमा नेपाली नोट


 


काठमाडौं, फागुन २६

नेपाली मुद्रा विश्वका मुद्रामध्ये सुन्दर रहेको एक विश्वचर्चित पत्रिकाले जनाएको छ । बेलायतबाट प्रकाशित हुने दैनिक दी टेलिग्राफले हालैमात्र विश्वका सुन्दर मुद्रामध्ये नेपालका मुद्रा पनि रहेको समाचार प्रकाशित गरेको छ।

विश्वका सुन्दर मुद्रालाई समेटेर दी टेलिग्राफले तयार गरेको सूचीमा नेपालका चारवटा मुद्राले स्थान पाएका हुन्। पत्रिकाले तयार गरेको सूची ‘वल्र्ड मस्ट ब्युटिफुल करेन्सिज’ अर्थात विश्वकै सुन्दर मुद्रामा पाँच सय, पाँच रुपैयाँ, एक रुपैयाँको नोट र दुई रुपैयाँको सिक्का परेको छ।

पत्रिकाले विभिन्न देशमा घुमफिरको क्रममा संकलन गरेको नोटका आधारमा आफ्नो ट्राभल ब्लगमा उत्कृष्ट २० मुद्रालाई स्थान दिएको छ । जसमा नेपालका चारवटा मुद्राले स्थान पाएका हुन्।

पाँच सय, पाँच रुपैयाँ, एक रुपैयाँको नोट र दुई रुपैयाँको सिक्कामध्ये तीनवटै नोटमा प्रयोग गरिएको बाघ, याक र जरायोको तस्बिरलाई पत्रिकाले प्रशंसा गरेको छ ।

त्यस्तै दुईको सिक्कामा रहेको सगरमाथा र हलो जोत्दै गरेको आकृतिको पनि पत्रिकाले प्रशंसा गरेको छ । तर दुई रुपैयाँको सिक्काको आकृतिको व्याख्यामा गोरु भन्नुपर्नेमा ‘भैंसी वा राँगो’ भन्ने बुझाइ राखिएको छ । साथै एक रुपैयाँको नोटमा गरिएको खुला डिजाइनलाई टेलिग्राफले थप प्रशंसा गरेको छ।

नेपाली एक रुपैयाँ, पाँच रुपैयाँ र पाँच सय रुपैयाँको नोट विश्वकै सुन्दर मुद्राको सूचीमा ११ औं स्थानमा परेको हो । साथै नेपाली संस्कृतिमा याकको महत्वपूर्ण स्थान रहेको र पाँचको नोटमा दुईवटा याकलाई महत्वका साथ प्रस्तुत गरिएको भन्दै यो नोटलाई सूचीको १२ औं नम्बरमा राखिएको छ । एक रुपैयाँको नोटमा रङको प्रयाेग सादा भएको भन्दै १३ औं स्थानमा राखिएको छ।

प्रत्येक वर्ष इन्टरनेसनल बैंक नोट सोसाइटीले वर्षको उत्कृष्ट नोट घोषणा गर्छ। तर, सोसाइटीले हरेक वर्ष गर्ने उत्कृष्ट मुद्रा छनोटको २०१६ को लागि दर्ता गर्नुपर्ने अवधि सकिसकेको छ।

गत जनवरी ३१ सम्ममा दर्ता खुला गरिएको र १९ वटा मुद्रा नोमिनेसनमा परेको सोसाइटीले जनाएको छ । तर, यस नोमिनेसनमा नेपालबाट कुनै मुद्रा प्रतिनिधत्वमा परेको छैन। प्रतिस्पर्धामा हालै मात्र भारत सरकारले सार्वजनिक गरेको दुई हजारको नोट पनि परेको छ।

सोसाइटीले २०१७ को लागि पनि दर्ता माग गरिसकेको छ । सन् २०१८ को जनवरीसम्म दर्ता खुला गरिएको छ

प्रकाशित मिति: २६ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्