सरुवामा चलखेल, प्रहरीका सातै प्रदेश निमित्तको भरमा
काठमाडौं । सरुवामा चलखेल हुँदा नेपाल प्रहरीका सातै प्रदेश नेतृत्वविहिन बनेको छ । गृहमन्त्री रमेश लेखकले सरुवा रोकेर अस्वस्थ प्रतिस्पर्धा बढाएको आरोप लागेको छ ।
प्रहरीका तीन प्रदेश त रिक्त भएको डेढ महिना भइसकेको छ । गण्डकी, सुदुरपश्चिम र कर्णाली ४ चैतदेखि नै रिक्त छ। अन्य चार प्रदेशमा कार्यरत डीआईजीहरु पनि एआईजीमा बढुवा भएपछि एक सातादेखि रिक्त छन् । तर, गृह मन्त्रालयले सरुवा निकाल्न सकेको छैन ।
सात प्रदेशका लागि १० डीआईजीबीच प्रतिस्पर्धा छ । सबै डीआईजी प्रदेश नै जान शक्तिकेन्द्रमार्फत दबाब दिइरहेका छन् । कोशी, मधेस र लुम्बिनीका लागि तिव्र प्रतिस्पर्धा छ । यी प्रदेशको सरुवाका लागि आर्थिक चलखेल समेत भएकाले सरुवामा ढिलाई भइरहेको स्रोत बताउँछ ।
प्रदेशका दाबेदार डीआईजीहरुमा सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, डम्बर बिक, हिमालय श्रेष्ठ, दिनेश आचार्य, ईश्वर कार्की, अरुण पौडेल, राजेन्द्र भट्ट र गोविन्द थपलिया छन् ।
प्रहरी महानिरीक्षक र गृहमन्त्रीबीच सरुवाबारे बारम्बार छलफल हुँदा पनि सहमति हुन सकेको छैन । स्रोतका अनुसार सात जनालाई प्रदेश र बाँकी तीनलाई भरतपुर तालिम केन्द्र, उपत्यका ट्राफिक र अन्तर्राष्ट्रिय विमानस्थलमा खटाउनेबारे समेत छलफल भइरहेको छ ।
हाल ती कार्यालयमा एसएसपीलाई प्रमुख बनाइएको छ । ट्राफिकका बिनोद घिमिरे, भरतपुर शिक्षालयका भूपेन्द्र खत्री तथा विमानस्थलका सोमेन्द्रसिंह राठौर डीआईजी बढुवाको लाइनमा छन् । ती कार्यालयमा विगतमा डीआईजी नै खटाइँदै आइएको थियो ।
प्रकाशित मिति: १८ बैशाख २०८२, बिहिबार
















