युद्धप्रभावित क्षेत्र जम्मु कास्मिरमा कति छन् नेपाली ?



काठमाडौं, वैशाख २८ । भारतको युद्धप्रभावित क्षेत्र जम्मु कास्मिरसहितका स्थानमा नेपालीहरु कति छन् भन्ने वास्तविक तथ्यांक सरकारसँग छैन ।

नेपाली दूतावासले शुक्रबार सूचना प्रकाशित गरी जम्मु कास्मिरसहित युद्धप्रभावित क्षेत्रमा कार्यरत नेपालीलाई सुरक्षित रहन आग्रह गर्ने औपचारिकता पूरा गरे पनि त्यहाँ रहेका नेपालीको अवस्थाबारे कूटनीतिक नेतृत्वले अनभिज्ञता प्रकट गरेको हो ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले युद्धप्रभावित क्षेत्रमा रहेका नेपालीको संख्याबारे तथ्यांक नरहेको बताए । ‘हामीले त्यहाँ सोध्न चाहिँ लगाइरहेका छौँ तर सरकारी संयन्त्रमा जाने कुरा भएन। नेपाली समुदाय र संघसंस्थाबाट बुझ्ने कुरा भइरहेको छ’, उनले भने, ‘सीमा क्षेत्रबाट तथ्यांक आएको छैन। जम्मु काश्मीरमा पनि नेपाली कति छन् भन्ने तथ्यांक छैन ।’

सरकारी निकायसँग वास्तविक तथ्यांक नभए पनि अन्य सङ्घसंस्थाले नेपाली नागरिकको तथ्यांक संकलन गर्ने गरेका छन्। विशेष गरी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र सहितका राजनीतिक दलले आफ्ना प्रवासी संगठनमार्फत भारतमा कार्यरत नेपालीको संख्या संकलन गर्दै आएका छन् ।

भारतमा सक्रिय राजनीतिज्ञ एवं सामाजिक अभियन्ता बालकृष्ण पाण्डेका अनुसार जम्मु काश्मीरमा अनुमानित ३० हजार नेपाली नागरिक कार्यरत छन्। उनले भने, ‘वास्तविक तथ्यांक त नेपाल सरकार, भारत सरकार र नेपाली दूतावाससँग पनि छैन तर विभिन्न संघसंस्थामा आबद्ध र अरू नेपाली गरी ३० हजार जति जम्मु काश्मीर राज्यमा छन्।’

उनले जम्मु कास्मिरमा होटल र ट्रेकिङ (भरिया) मा धेरै नेपाली आबद्ध रहेको र केही नेपालीले अनुमति लिएरै काम गरिरहेको बताए । उनले निर्माण, होटल, उद्योग, कृषि, चौकीदार, सुरक्षागार्डको काममा नेपाली कार्यरत रहेको बताए। ‘होटल रेस्टुरेन्ट सञ्चालन गरेर बस्ने नेपाली पनि छन्’उनले भने ।

राजनीतिज्ञ पाण्डेले पञ्जाबमा एक लाख ५० हजारभन्दा बढी नेपाली कार्यरत रहेको र ती औद्योगिक क्षेत्रमा प्राविधिक तथा सुरक्षागार्डदेखि कृषि श्रमिकसम्म रहेको बताए । उनका अनुसार राजस्थान र गुजरातमा पनि एक लाखको हाराहारीमा नेपाली छन् । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्