कीर्तिपुरमा आगलागी भएको गाडीबाट एक जनाको शव निकालियो
काठमाडौं । कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।
मंगलबार बिहान ११ः२० बजेतिर कीर्तिपुरको ट्यांग्लाफाट चाँदनी चोकमा पार्किङ गरिएको गाडीमा आगलागी भएको थियो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पार्किङमा राखिएको बा ५ च ३०३८ नम्बरको गाडीमा आगलागी भएपछि प्रत्यक्षदर्शीले तत्काल प्रहरी र ट्राफिकलाई खबर गरेका थिए ।
खबरपछि घटनास्थल पुगेका सुरक्षाकर्मीले आगो निभाएका थिए ।
प्रारम्भिक जानकारीअनुसार चालक गाडीभित्रै सिट बेल्ट बाँधेको अवस्थामै जलेको र मृत अवस्थामा फेला परेका छन् ।
मृतकको पहिचान र गाडीमा कसरी आगो लाग्यो भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन।
यद्यपी आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार







