आईपीएलका बाँकी खेलको तालिका घोषणा
एजेन्सी । भारत र पाकिस्तानबीचको तनावकाबीच रोकिएको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ का बाँकी खेल सञ्चालनका लागि नयाँ तालिका घोषणा गरिएको छ । पाकिस्तानसँग युद्धविराम भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईपीएलका बाँकी खेलको तालिका घोषणा गरेको हो ।
यो सिजनको खेल १७ मे बाट पुनः सुरु हुनेछ र फाइनल खेल ३ जुनमा हुनेछ । बाँकी सबै खेलहरू छ वटा मैदानहरू– बेंगलुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबादमा खेलिनेछ ।
भारत र पाकिस्तानबीचको तनावका कारण बीसीसीआईले आईपीएललाई एक हप्ताका लागि स्थगित गरेको थियो । त्यसबेला १८औँ सिजनका ५८ खेलहरू सम्पन्न भइसकेका थिए । तीमध्ये धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल बीचमै रोकिएको थियो, जसले गर्दा उक्त खेलको कुनै नतिजा निस्कन सकेन ।
अब बीसीसीआईले यो खेल पुनः आयोजना गर्ने निर्णय गरेको छ। यो खेल २४ मे मा जयपुरमा हुनेछ ।
नयाँ तालिकामा दुई डबल हेडर समावेश छन्। पहिलो डबल हेडर १८ मे मा हुनेछ। सो दिन दिउँसो जयपुरमा राजस्थान रोयल्स र पञ्जाब किंग्सबीच खेल हुनेछ भने साँझ दिल्लीमा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो डबल हेडर २५ मे मा हुनेछ। सो दिन दिउँसो गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच खेल हुनेछ भने साँझ ७ः३० बजे सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सबीच भिडन्त हुनेछ । २८ मे, ३१ मे र २ जुनमा कुनै खेल हुने छैन ।
आईपीएल २०२५ को प्लेअफ २९ मे बाट सुरु हुनेछ। पहिलो क्वालिफायर खेल २९ मे मा, एलिमिनेटर ३० मे मा, दोस्रो क्वालिफायर १ जुनमा र फाइनल खेल ३ जुनमा हुनेछ। यी चार खेलका लागि स्थानहरू पछि घोषणा गरिनेछ।
आईपीएल २०२५ सिजन स्थगित हुनुअघि गुजरात टाइटन्स अंक तालिकाको शीर्ष स्थानमा थियो। गुजरातले ११ खेलमा ८ जित र ३ हारसहित १६ अंक प्राप्त गरेको थियो। दोस्रो स्थानमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) थियो, जसले पनि समान खेल र अंक प्राप्त गरेको थियो। तेस्रो स्थानमा पञ्जाब किंग्स र चौथो स्थानमा मुम्बई इन्डियन्स थिए ।
चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स प्लेअफको दौडबाट बाहिरिसकेका छन्। दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स र लखनऊ सुपर जायन्ट्सको प्लेअफ सम्भावना भने कायमै छ ।
प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार
















