महिला टी–२० विश्वकप छनोट : हङ्कङसँग सात विकेटले हार्यो नेपाल
काठमाडौँ । आईसीसी महिला टी २० विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोट प्रतियोगितामा मङ्गलवार नेपाली टोली हङ्कङसँग सात विकेटले पराजित भएको छ । जारी प्रतियोगितामा नेपालको यो पहिलो हार हो ।
टस हारी ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाएर २९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको हङ्कङले भने ४.३ ओभरमै केवल तीन विकेट गुमाएर विजयलक्ष्य पूरा गर्यो ।
वर्षाका कारण खेल निर्धारित समयभन्दा निकै ढिलो सुरु भएको थियो । सोही कारणले खेल पाँच।पाँच ओभरमा झारिएको हो । हङ्कङको जितमा ओपनर सान्जिन सहजादले अविजित १५ रनको योगदान गरिन् । उनले १२ बलमा एक छक्का पनि हिर्काइन् ।
चौथो नम्बरमा क्रिज समाल्न आएकी मारिको हिलले पनि ११ बलमा ११ रनको योगदान गरिन् । यासविन दसवानी तीन रनमा अविजित रहिन् । हङ्कङले खेलको प्रारम्भमै दुई ब्याट्रलाई गुमाएको थियो । नेपाली टोलीकी बलर कविता कुँवरले दुई विकेट लिइन् ।
त्यसअघि, नेपालका लागि ओपनर सम्झना खड्काले सात बलमा १० रन बनाएकी थिइन् । उनले एक चौका पनि हिर्काइन् । कप्तान इन्दू वर्माले पनि १० बलमा अविजित नौ रन जोडिन् । रुविना क्षेत्री भने चार रनमा अविजित रहिन् ।
कविता कुँवरले दुई र पूजा महतोले तीन रन बनाए । नेपालले अतिरिक्त रूपमा एक रन मात्र पाएको थियो । हङ्कङकी बलर मेई वाई सिउले तीन विकेट लिइन् ।
जारी प्रतियोगितामा समूह सी मा रहेको नेपालले खेलेको यो तेस्रो खेल हो । तीन खेलबाट चार अङ्क बटुलेको हङ्कङ तालिकाको पहिलो स्थानमा आसिन छ । तीन खेलबाट तीन अङ्क जोडेको नेपाल दोस्रो स्थानमा छ । दुई खेलबाट एक अङ्क हात पारेको बहराइन तेस्रो स्थानमा छ ।
यसअघि, नेपाल र हङ्कङबिचको खेल वर्षाका कारण रद्द भएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले बहराइनलाई नौ विकेटले हराएको थियो । नेपाली टोलीले आफ्नो चौथो तथा अन्तिम खेल मे १५ तारिखमा बहराइनसँग खेल्नेछ ।
<
प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार
















