नक्कली लालपुर्जा, लाइसेन्स र शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा प्रहरीको छापा, ३ जना पक्राउ



काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सरकारी एवं बैंक तथा वित्तिय संस्थाका काजातहरू कीर्ते गरी नक्कली बनाउने कारखानामा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखाको भीमसेनथापा गाउँपालिका–१ घर भएका ४६ वर्षीय अन्जनी बयलकोटी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ घर भएका २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका–२ छयाङ्ढुङकी २३ वर्षीया अन्जु खत्री छन् ।

प्रहरीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो । यो समूहले तारकेश्वर नगरपालिका–७ फुटुङमा कार्यालयन नै खडा गरेर सरकारी कागजातहरू नक्कली बनाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।

उनीहरुले सरकारी कागजातहरू, शैक्षिक प्रमाणपत्र, स्थानीय तहका कागजातहरू, बैंक तथा वित्तिय संस्थाका कागजातहरू उनीहरूले बनाउँदै आएको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । पक्राउ परेका बयलकोटीले विगत ८ वर्षदेखि यो धन्दा चलाएको प्रहरीको भनाइ छ । उनले जग्गा धनीपूर्जादेखि सवारी चालक अनुमतिपत्र समेत नक्कली बनाउने गरेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्