विज्ञहरुको टोली तिल गाउँको बाढीको कारण पत्ता लगाउन हुम्ला पुगे



काठमाडौं । जेठ १ गते राति एक्कासी बाढी आउँदा हुम्लाको नाम्खा गाउँपालिका ६ को तिल गाउँमा क्षति पुग्यो ।

१८ घर परिवार बिस्थापित भएर पाल मुनि बसिरहेका छन् ।

करिब ५ हजार ३०० मिटर माथि हिमालमा रहेका दुई वटा हिम पोखरीबाट बगेको पानी बाढीमा परिणत भएको थियो ।

पोखरीको पानी कसरी बाहिर निस्किएर कसरी बाढीमा परिणत भयो भन्ने बारे पत्ता लगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनिर सुशील कुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली आज बिहान हुम्ला सुदरमुकाम सिमिकोट पुगेको छ ।

टोलीमा जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सौहाद्र जोशी र खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बास्कोटा छन् । टोली आजै प्रभावित क्षेत्रमा जाने जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।

काठमाडौंबाट गएका विज्ञहरुको टोलीले तिल गाउँको बाढीको कारण वैज्ञानिक रुपमा पत्ता लगाउने छन् ।

प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्