भन्सार प्रमुखलाई कुटने नगर प्रहरी निरीक्षकसहित ४ जना पक्राउ



काठमाडौं । कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनालाई कुटपिट गरेको आरोपमा धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नगर प्रहरीका प्रमुख समेत रहेका धामी, उनका सवारी चालक हसनबहादुर मल्ल, नगर प्रहरी जवान जितेन्द्रसिंह धामी र नगर प्रहरी हवल्दार मणिदत्त भट्ट छन् ।

धामीलाई कञ्चनपुरको झलारी र अन्य तीन जना धनगढीबाट सोमबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार भन्सार प्रमुख तिमिल्सिनाले अभद्र व्यवहार शीर्षकमा दिएको किटानी जाहेरीका आधारमा चारै जनालाई पक्राउ गरिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तिमिल्सिनामाथि शनिबार राति भन्सार कार्यालयभित्रै नगर प्रहरीका प्रमुख प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहितका प्रहरीले कुटपिट गरेका थिए ।

प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्