विश्वकप लिग–२ : त्रिकोणात्मक सिरिज आजदेखि



काठमाडौँ, जेठ १९ । विश्वकप लिग–२ अन्तर्गत नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डसँगको त्रिकोणात्मक सिरिज आजदेखि सुरु हुँदैछ ।

नेपालले पहिलो खेलमा आज स्कटल्याण्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आज अपरान्ह पौने ४ बजे सुरु हुनेछ ।

नेपालले बुधबार नेदरल्याण्डसँग खेल्नेछ । यस्तै नेपालले स्कटल्याण्डसँग आगामी आइतबार खेल्दा आगामी मंगलबार नेदरल्याण्डसँग खेल्ने तालिका रहेको छ।

नेपाली राष्ट्रिय टोली ७ महिनाको लामो विश्रामपछि फेरि एकदिवसीय मैदानमा फर्किंन लागेको हो । गत कार्तिकमा अमेरिका पुगेको नेपालले डालसको ग्राण्ड पेरी मैदानमा चार खेलको सिरिज खेलेको थियो । त्यहाँ अमेरिका र स्कटल्याण्डसँग खेल्दा एउटा खेल जितेको थियो भने एउटामा अंक बाँडेको थियो। नेपाली टोली दुई खेल हारेर स्वदेश फर्किएको थियो ।

त्यसयता एकदिवसीयमा नेपालले कुनै खेल खेलेको छैन । लिग टु को अंक तालिका हेर्ने हो भने, नेपालको अवस्था राम्रो छैन । १२ खेलमा २ जितका साथ ६ अंकसहित नेपाल तालिकाको पुछारमा छ । स्कटल्याण्डले भने १६ खेलमा २० अंक जोड्दै चौथो स्थानमा छ । नेदरल्याण्ड्स २० खेलबाट २६ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।

सिरिजमा नेपालसहित स्कटल्याण्ड डिफेन्डिङ च्याम्पियन र नेदरल्याण्ड्स सुपर लिगबाट आएको बलियो टोली छ ।

यसअघि नेपालले बेलायत भ्रमणको क्रममा ५ अभ्यास खेल खेलेको थियो जसमा सबैमा जित निकाल्दै उत्साहजनक प्रदर्शन गर्यो। तर, स्कटल्याण्ड ए सँगको दुई अभ्यास खेलमध्ये एकमा हार र अर्को वर्षाले रोकिँदा नेपालको यात्रामा चुनौती थपिएको छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्