करणको उत्कृष्ट ब्याटिङले स्कटल्यान्डविरुद्ध नेपालको कीर्तिमानी जित



काठमाडौँ । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा घरेलु टिम स्कटल्यान्डविरुद्ध कीर्तिमानी जित निकालेको छ ।

नेपालले सोमबार भएको खेलमा स्कटल्यान्डविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको हो ।

स्कटल्यान्डको डुन्डीमा सम्पन्न खेलमा करण केसीको उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टिमले प्रस्तुत गरेको २९७ रनको लक्ष्य नेपालले ४९.५ ओभरमा नौ विकेट गुमाएर पूरा ग¥यो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले भेट्टाएको यो हालसम्मकै ठूलो लक्ष्य हो।

यसअघि नेपालले सन् २०२३ मा नामिबियाविरुद्ध र २०२४ मा क्यानडाविरुद्ध समान २८६ रनको लक्ष्य पूरा गरेको थियो ।

नेपालको जितमा नवौँ नम्बरमा ब्याटिङका निम्ति आएका करण केसीले सर्वाधिक ६५ रन बनाए । करणले अविजित रहँदा ४१ बलमा तीन चौका र चार छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा करणको यो पहिलो अर्धशतकसमेत हो । नेपाललाई अन्तिम ओभरमा सात रन आवश्यक हुँदा पहिलो बलमै सन्दीप लामिछाने आउट भएका थिए ।
करणबाहेक, नेपालका ओपनर कुशल भुर्तेलले ५३ रनको अर्धशतकीय इनिङ खेले। गुल्सन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहितकुमार पौडेलले ३७ र आसिफ सेखले २० रन थपे ।

स्कटल्यान्डका ब्रान्डन म्याकमुलमले तीन विकेट लिए। ज्याक जार्भिस र माइकल लियस्कले समान दुई विकेट लिँदा मार्क वाट र जस्पेर डविडसनले एकएक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको घरेलु टिमले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २९६ रनको योगफल खडा गरेको थियो। स्कटल्यान्डका ओपनर चार्ली टिएरले सर्वाधिक ८० रन बनाए । उनले ७२ बलमा १२ चौका र एक छक्का प्रहार गरे । चार्लीले ७७–२ को स्थितिबाट तेस्रो विकेटका निम्ति कप्तान रिची बेरिङ्टनसँग ७९ रनको साझेदारी गरेका थिए ।

कप्तान बेरिङ्टनले ४० रन थपे। यस्तै, फिनली म्याकार्थीले ६७ बलमा तीन चौका र एक छक्कासहित ५५ रन बनाए । म्याथ्यु क्रसले ३९ र ब्रान्डन म्याकमुलमले १९ रन जोडे । माइकल लियस्क र जर्ज मुन्सीको नाममा क्रमशः १८ र १२ रन रह्यो। वार्क वाटले १० रन थपे।

नेपालका करण केसी, रिजन ढकाल र सोमपाल कामीले दुई–दुई विकेट लिए । १० ओभर बलिङ गर्दा करणले एक मेडनसहित ४३ रन खर्चिए । यस्तै, सन्दीप लामिछानेले एक विकेट लिए। यो जितसँगै नेपाल तालिकाको सातौँ स्थानमा उक्लिएको छ । नेपालले प्रतियोगिताको १३ खेलबाट आठ अंक जोडेको छ ।

नेपाली टिमले नवनियुक्त प्रशिक्षक स्टुअर्ट लको आगमनपछि नेपालको यो पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल हो। तालिकाको चौथो स्थानमा रहेको स्कटल्यान्डले भने १७ खेलबाट २० अंक जोडेको छ ।

प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्