नेपालले ३७ वर्षपछि आज हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्दै
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज हङकङसँग खेल्दैछ ।
खेल हङकङको हङकङ नेसनल स्टेडियममा आज साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ । नेपालले ३७ वर्षपछि हङकङसँग फुटबल खेल खेल्न लागेको हो ।
फिफा वरियतामा हङकङ नेपाल भन्दा अघि १५३औं स्थानमा छ । नेपाल १७५औं स्थानमा छ । नेपाल र हङकङबीच यसअघि भएको एक मात्र खेल बराबरीमा सकिएको थियो ।
सन् १९८८ मा काठमाडौंको दशरथ रंगशामा भएको एसियन कप छनोटको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।
एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपाल र हङकङले तयारीस्वरुप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।
छनोटको समूह एफमा रहेको नेपालले यही जुन १० मा लाओससँग अवे खेल खेल्दैछ । उक्त खेल खेल्नुअघि हङकङसँगको खेलले नेपाललाई राम्रो तयारी हुने विश्वास छ ।
प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहिबार
















