आइपिएल बिजेता आरसिबीविरुद्ध प्रहरीमा उजुरी दर्ता
एजेन्सी । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले इन्डियन प्रिमियर लिग (आपिएल) जितेको विजयउत्सवका लागि आयोजित कार्यक्रममा भागदौडमा ११ जनाको मृत्यु भएपछि उसविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ ।
बेंगलुरु प्रहरीले आरसिबी फ्रेन्चाइज टोलीविरुद्ध पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता गरेको हो ।
एफआईआरमा प्रहरीले चिन्नास्वामी स्टेडियममा कार्यक्रम सञ्चालन गर्न आरसिबीलाई अनुमति नदिएको दाबी गरेको छ । जुन स्टेडियम वरिपरि भागदौड मच्चिएको थियो । जसले गर्दा धेरैको ज्यान गुम्यो ।
आरसिबीलाई एफआईआरमा पहिलो अभियुक्तको रूपमा सूचीबद्ध गरिएको छ । साथै फ्रेन्चाइजको कार्यक्रम साझेदार डिएनए इन्टरटेनमेन्ट र चिन्नास्वामी स्टेडियमको जिम्मेवारी रहेको कर्नाटक राज्य क्रिकेट संघ (केएससिए) लाई पनि समावेश गरिएको छ ।
कब्बन पार्क डिभिजनका प्रहरी निरीक्षक गिरीश एकेको उजुरीको आधारमा एफआईआर दर्ता गरिएको थियो।
छानबिन गर्न समिति गठन गर्ने घोषणा गर्दै पत्रकार सम्मेलनमा कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याले एफआइआरमा नाम उल्लेख गरिएका सबै पक्षका प्रतिनिधिहरूलाई पक्राउ गर्न निर्देशन दिए । उनले भागदौड भएको क्षेत्रहरूको क्षेत्राधिकार रहेको कब्बन पार्क प्रहरी चौकीका निरीक्षकलाई निलम्बन गर्न पनि आदेश दिए ।
राज्य सरकार र आरसिबीले मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका थिए । साथै घाइतेहरूको सबै चिकित्सा खर्च बेहोर्ने घोषणा गरेका थिए ।
प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार







