लिग–२ मा नेपाल १५७ रनमै समेटियो, नेदरल्यान्ड्सलाई १५८ रनको लक्ष्य



काठमाडौँ, ७ साउन । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नेदरल्यान्ड्ससामु जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेदरल्यान्ड्सको युट्रेच्टमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनमा समेटियो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। यस्तै, गुल्सन झाले २९, दीपेन्द्रसिंह ऐरीले २१, आसिफ शेखले १४ तथा करण केसीले अविजित १३ रन जोडे। अन्य ब्याट्सम्यानले भने उल्लेखनीय योगदान दिन सकेनन्।

बलिङतर्फ नेदरल्यान्ड्सका एलेक्स रोय र रोलोफ भान डर मर्वेले समान ३–३ विकेट लिए। लोगन भान विकले २ तथा काइल क्लाइनले १ विकेट हात पारे।

१५८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले समाचार तयार पार्दासम्म जवाफी ब्याटिङ गरिरहेको छ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार