‘प्रचण्ड कप’ को उपाधिका लागि पुलिस र एपीएफ भिँड्दै



पोखरा । पोखरामा जारी ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लब भिँड्ने भएका छन् ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार सम्पन्न सेमिफाइनल खेल जित्दै यी दुई टोलीले फाइनलको यात्रा तय गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा पुलिसले एभरेष्ट भलिबल क्लबमाथि सोझो सेटमा सहज जित दर्ता गर्दै फाइनल पुग्न सफल भयो । पुलिसले एभरेष्टलाई २५–१६, २५–१३ र २५–११ को सोझो सेटमा हराएको हो ।

यसअघि पोखरामा केही साताअघि सम्पन्न भएको नवौँ प्रधानमन्त्री कप एनभिए भलिबल प्रतियोगितामा उपाधि जितेको पुलिसले पुनः दोस्रो उपाधि रक्षा गर्ने दाउमा छ ।

यसैगरी एपीएफले न्यू डायमण्डलाई सोझो सेटमा हराएको हो । एपीएफले २५–१७, २६–२४ र २५–१९ को सेटमा डायमण्डलाई पराजित गर्दै फाइनलमा यात्रा तय गरेको हो ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु छ लाख, उपविजेताले रु तीन लाख र तेस्रो हुने टिमले रु एक लाख पुरस्कार प्राप्त गर्ने आयोजक स्पोर्टस् एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए ।

उत्कृष्ट खेलाडीले रु २० हजार तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीले जनही रु १० हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्