‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई
काठमाडौं । पोखरामा आयोजित ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल नेपालको एपीएफ क्लबले जितेको छ ।
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गर्दै एपीएफ च्याम्पियन बन्न सफल भएको हो । एपीएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को अङ्कमा हराउन सफल भयो ।
यससँगै एपीएफले ६ लाखसहित ट्रफी पुरस्कार प्राप्त गर्दा उपविजेता पुलिसले ३ लाख पुरस्कारमा चित्त बुझायो ।
यसैगरी, प्रतियोगितमा टिप टप न्यू डायमन्ड क्लबले तृतीय बनेर एक लाख पुरस्कार पायो । डायमन्डले आज नै भएको तृतीय स्थानको खेलमा एभरेष्ट भलिबल क्लबलाई २५–८, २५–१९ र २५–११ को सेटमा हराएको हो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफकी निरुता ठगुन्ना घोषित हुँदै ३० हजार पुरस्कार पाइन् । उत्कृष्ट सेटरमा एपीएफकी जसना महतो, स्पाइकरमा पुलिसकी उषा भण्डारी, सर्भर एपीएफकी सृष्टि खड्की, ब्लकर न्यू डायमन्डकी सुमित्रा रेग्मी, लिब्रोमा डायमन्डकी सलिना श्रेष्ठ र प्रशिक्षकमा एपिएफका पुष्पजङ्ग मल्ल घोषित हुँदै जनही २० हजार पुरस्कार पाए ।
यही जेठ २७ देखि सुरु भएको प्रतियोगितामा छ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
प्रकाशित मिति: १ असार २०८२, आइतबार
















