संसदमा रास्वपाको नयाँ शैली : सत्तापक्ष बोल्दा नाराबाजी, प्रतिपक्षी बोल्दा चुप



काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसदमा नाराबाजी गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुलाई मर्यादापालकले घेरेर राखेका छन् ।

रोष्ट्रम अगाडि पलेंटी कसेर बसेका उनीहरुले नयाँ शैली अपनाएका छन् । एमाले सांसद पदम गिरी बोल्दासम्म नारा लगाइरहेका उनीहरु माओवादी केन्द्रका सांसद शक्ति बस्नेत बोल्न सुरु गरेपछि भने शान्तपूर्वक बसिरहेका छन् ।

कुनै पनि एक जना सांसद उभिए पनि संसद बैठक नचल्ने प्रचलन भए पनि सभामुख देवराज घिमिरेले बैठक नियमित कार्यसूचीमा सन्चालन गरिरहेका छन् ।

सभामुख घिमिरेले आइबार पनि विरोधका बीच बैठक सन्चालन गरेका थिए ।

आइतबार जस्तै सोमबार पनि सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु आआफ्नो ठाउँबाट उठेका थिए ।

तर बैठक नरोकिएपछि रास्वपा सांसदहरु नाराबाजी गर्दै वेल अगाडि गए भने राप्रपा सांसदहरु बैठक कक्षबाट बाहिरिए ।

माओवादी केन्द्रका सांसद शक्ति बस्नेत रोष्टममा पुगेर बोलिरहेका बेला नेकपा एमालेका सांसद सूर्य बहादुर थापाले नियमापत्ति गरेका थिए ।

उनले भने–‘हामी रत्नपार्कमा छौं कि शहीद गेटमा छौं कि, कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा छौं, मैले बुझ्न पाइनँ, बुझ्न सकिनँ । माननीय सदस्यहरुका कुर्सी रोइरहेका छन्, कुर्सीले माननीय सदस्यहरु भेट्न पाइरहेका छैनन् ।’

थापा यति बोलेपछि रास्वपा सांसदहरुले फेरि नारा लगाउन थाले । तर सभामुख घिमिरेले थापाको कुराको ध्यानाकर्षण भएको बताए र शक्ति बस्नेतलाई आफ्ना भनाइ जारी राख्न भने ।

सभामुखको यो भनाइपछि थापा बसे र बस्नेत फेरि बोल्न सुरु गरे । रास्वपा सांसदहरु भने फेरि चुपचाप बसिरहे ।

प्रकाशित मिति: २ असार २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्