सुदूरपश्चिमका विभिन्न चौकीका इन्चार्ज फेरिए, तर चौखुट्टेमा एउटै व्यक्ति वर्षौंदेखि कायम किन ?
कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले १४६ जना प्रहरी सहायक निरीक्षकहरुको सरुवा गरेको छ । कार्यालयका प्रमुख डीआईजी डम्बरबहादुर बिकले श्रावण महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरेका हुन् ।
उनीहरुको आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले हेरफेर गरिएका बताइएको छ । साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आआफ्नो अभिलेख किताबमा आवश्यक कार्यान्वयन गर्न गराउन हुन तालुक कार्यालय तथा सम्बन्धित कार्यालयहरुलाई समेत अनुरोध गरिएको छ ।
सरुवा हुनेमा ९ वटै जिल्लाका विभिन्न चौकीमा कार्यरत प्रमुखहरु रहेका छन् । उनीहरुको डीआईजी बिकले आवश्यकता अनुसार सरुवा गरेका छन् । तर उता अछामको प्रहरी चौकी चौखुट्टेमा लामो समयदेखि एउटै व्यक्ति इन्चार्ज बनेर बसेका छन् ।
पोष्टिङका लागि आकर्षक मानिने चौखुट्टेमा प्रहरी नायव निरीक्षक (सई) पदम सिंह साउद दुई वर्ष पुग्नै लाग्दासमेत इन्चार्जका रुपमा कार्यरत छन् । उनी गत मंसिरमा असईबाट सईमा बढुवा भएका थिए भने प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय सन्तपुर लक्ष्मिनिया, रौतहट पदस्थापन गरेको थियो ।
सरुवा भएको ८ महिनासम्म पनि उनी प्रहरी चौकी चौखुट्टेमै काज मिलाएर कार्यरत छन् । उनीसँगै वरिष्ठ हवलदार नरबहादुर खड्का पनि लामो समयदेखि त्यहाँ कार्यरत छन् ।
जसकारण चौखुट्टेमा बेथिति बढेको आरोप छ । सो प्रहरी चौकी अछाम र डोटीको सिमामा रहेको छ । सोही सिमाबाट आवतजावत गर्ने सवारी धनीहरु प्रहरीबाट दुःख पाउँदै आएको गुनासो गर्ने गरेको बताइन्छ ।
प्रकाशित मिति: ११ असार २०८२, बुधबार
















