यी हुन् रसुवा बाढीमा बेपत्ता हुने नेपाली र चिनियाँ नागरिक (सूचीसहित)
काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण अहिलेसम्म रसुवामा १८ जना बेपत्ता भएको तथ्यांक संकलन भएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनाको उद्धार गरेको छ ।
सशस्त्र प्रहरी बलका अनुसार, बेपत्ता हुनेमा नेपाल प्रहरी अन्तरगत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत् प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन् ।
प्रहरीका अनुसार बर्दिया स्थायी घर भएका जिवन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान, हाइलक्स चालक लोकमान तामाङ पनि बेपत्ता भएका छनन् ।
बेपत्ता हुनेमा ६ जना चिनियाँ नागरिक छन् । सशस्त्र प्रहरीबाट उपलब्ध सूची अनुसार, बेपत्ता हुने चिनियाँ नागरिकहरुमा YU YUE, LI HUAQING, YANG CHUAN, YU HAI HANG, YOU XIAO QIU र JOU YONG छन् ।
गएराति आएको बाढीले नेपाल–चीन मितेरी पुल, भन्सारसहितका स्थानमा क्षति गरेको छ । रसुवागढी हाइड्रोपावरको ड्याम र क्याम्पमा पनि क्षति पुगेको छ । २०० मेगावाट क्षमताको विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
त्यस्तै रसुवागढी भन्सार र निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा रहेका १ सय भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान गरिएको छ ।
अहिले प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी छ ।
यसैबीच, बाढीका कारण रसुवागढीमा पुगेको क्षतिको स्थलगत निरीक्षण गर्न अर्थमन्त्री विष्णु पौडेल त्यसतर्फ जाने भएका छन् ।
अर्थमन्त्री पौडेल अर्थसचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक महेश भट्टराईसहित रसुवा जान लागेका हुन् ।
हेलिकोप्टर व्यवस्थापनका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखेको छ ।
प्रकाशित मिति: २४ असार २०८२, मंगलबार
















