कविता–फाटकमा घाम



– कविता राई गाउँले

जब ओर्लिन्छ घाम आकाशबाट
तब मानेडाँडा छेउमा फुलेको
चाँपको फूलबाट खसेर हावा
यता जाउँ कि, उता जाउँ हुन्छ
हाम्रो फाटकमा….. !

एकाबिहानै—
आँखा तन्काउन घरका धुरीहरू खोजिहिँड्ने
घामका मधुरा किरणहरू
प्रत्येक बिहान यसरी नै अल्मलिन्छन्
घरि यता, घरि उता घरका चिसा धुरीहरूमाथि
हाम्रो फाटकमा…..!

शीतले कक्रक्क कक्रिएका
घरका छानाबाट चिप्लिएर
फेरि अल्मलिन्छ घाम—
पहिला आनीका आँखामा खसूँ कि
कि, मेरा यी चिम्सा आँखामा खसूँ हुन्छ
हाम्रो फाटकमा…..!

जहिल्यै घाम अल्मलिइरहने यो ठाउँमा
यदि तपाईं नै आउनुभयो भने पनि
पक्कै अल्मलिनु हुनेछ
कि, इतिहासले कोरिदिएको यो सिमानामा
म कहाँनिर उभिएको छु भनेर…..!

हो, तपाईंका दुई आँखाले मात्रै
कहिल्यै छाम्न सक्दैन सिमाना
हाम्रो फाटकमा…..!

आफ्नै लयमा धरतीले
जब चाल्छ सुस्तरी पाइला
तब त्यही लयमा घामको छायाँ बोकेर
भ्रमित दौडिरहन्छ घामसँगै घामको छायाँ
आनी र मेरा दुई जोर चिम्सा आँखालाई
नाघेर÷उछिनेर÷छिचोलेर…..
अनि कोर्छ अर्को रेखा
तब म देख्छु— उही सिमाना
अदृश्य रूपमा सरिरहेको छ
हाम्रो फाटकमा…..!!!

पशुपतिनगर, इलाम

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News